काठमाडौं, चैत २ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अन्तिम तथा निर्णायक खेलमा नेपालले पाँचौं वीकेट लिएको छ । त्रिबि मैदान किर्तीपुरमा आज भइरहेको खेलमा दीपेन्द्रसिंह ऐरीले नेपाललाई पाँचौँ सफलता दिलाएका हुन ।
ऐरीले यूएईका रोहन मुस्तफालाई एलबीडब्लू आउट गरेका हुन् । मुस्तफा ३१ बलमा २० रन बनाई पेभेलियन फर्किएका छन । त्यसअघि ऐरीकै बलमा यूएईका आयन अफजल खानलाई गुल्शन झाले क्याचआउट गराएका थिए । खान ३ रन मात्र बनाएर पेभेलियन फर्किए ।त्यसअघि ऐरीकै बलमा २३औं ओभरमा रिजवान रनआउट भएका थिए ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईलाई मोहम्मद वासिमले आक्रामक सुरुवात गरेका थिए । ४९ बल सामना गरेका वासिमले ६ छक्का र २ चौकासहित ६३ रन बनाएका छन । उनलाई सन्दीप लामिछानेले आउट गरे । नेपालका लागि ऐरीले किफायती बलिङ गरिरहेका छन् । ८ ओभर बलिङ गरेका उनले २ मेडन राख्दै मात्र १९ रन खर्चिएर २ विकेट लिएका छन् ।
आजको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल खेल्न पाउनेछ ।
पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । फेब्रुअरी १४ मा नामिबियालाई कीर्तिपुर मैदानमै हराएयता नेपालले खेलेको ११ खेलमध्ये १० मा जित हात पारेको छ ।
प्रतिक्रिया दिनुहोस्