जनता टाइम्स

२ चैत्र २०७९, बिहीबार १२:५६

नेपालको मुख्य प्रशिक्षकको पारिश्रमिक कोरियाले दिने


काठमाडौं, २ चैत । नेपाली राष्ट्रिय फुटबल टिमका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसको पारिश्रमिक दक्षिण कोरिया एफएले उपलब्ध गराउने भएको छ । जसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण कोरिया फुटबल एसोसियसनसँग आर्थिक सहायतामा सम्झौता गरेको छ ।

एन्फाका महासचिव किरण राई र कोरिया एफएका महासचिव हान्जिन चुनले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । रुवान्डामा आयोजना भएको फिफा कंग्रेस दौरान सम्झौता पत्रमा हस्ताक्षर भएको हो । प्रशिक्षक भिन्सेन्जोले एन्फासँग एक वर्षको सम्झौता गर्नुभएको हो । तीन हप्ता अघि एन्फाको कार्यसमिति बैठकले इटालीका भिन्सेन्जोलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।

पदपूर्ति समितिले सिफारिस गरेको अनुसार बैठकले भिन्सेन्जोलाई नियुक्ति गरेको हो । मूख्य प्रशिक्षकका लागि १ सय ६८ जनाको आवेदन आएको थियो । जसमा पदपूर्ति समितिले २० जनालाई सर्टलिस्ट गरेको थियो । ३८ वर्षीय अनुभवी प्रशिक्षक भिन्सेन्जोले यस अघि बेलिजको राष्ट्रिय फुटबल टिम हेर्नुभएको थियो ।

यूईएफए प्रो लाइसेन्स प्राप्त प्रशिक्षकले भारतीय क्लब गोकुलम केरलालाई दुई पटक आई लिगको उपाधि दिलाउनुभएको थियो । उहाँले इन्डियन सुपर लिगमा नर्थ इस्ट युनाइटेडको टोली समेत सम्हालिसक्नुभएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको थियो ।