जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १९:१६

विज्ञापन विधेयक पारित : क्लिन फिड तत्कालै लागू हुने, सरकारी बिज्ञापनमा एकद्वार प्रणाली


काठमाडौं, भदौं ४ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ । ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ ।

यसैगरी विधेयकमा टेलिफोन र विद्युतका पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ । विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले विधेयक पारित भई ऐनका रुपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताउनुभयो । यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको विश्वास थियो ।