जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १९:३२

पर्यटनमन्त्री भट्टराईले गरे निर्माणाधीन सुकिलुम्बा विमानस्थलको अनुगमन, जनाए यस्तो प्रतिवद्धता


इलाम, भदौं ४ । इलाममा निर्माणाधीन सुकिलुम्बा विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अनुगमन गर्नुभएको छ । मन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उहाँले आज इलाम विमानस्थलको अनुगमन गर्नुभएको हो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री भट्टराईले यहाँको विमानस्थल आवश्यकता भएर नै शुरु भएकाले सम्पन्न हुने बताउनुभयो । पहाडी जिल्लामा विमानस्थल आवश्यकता महसुस भएर नै यहाँ काम थालिएको उहाँको भनाइ छ । पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै उहाँले स्थानीयलाई निराश नबन्न आग्रहसमेत गर्नुभयो । पन्ध्र महीनाको ठेक्का शुरु भइसकेको बताउँदै उहाँले काम शुरु भएको एक महीना बितिसकेको बताउनुभयो । अबको १४ महीनामा यसको हेर्न लायकको प्रगति हुने भन्दै उहाँले त्यसपछि थप रकम विनियोजन गरेर भए पनि यसलाई सम्पन्न गर्न आफू लागिपर्ने बताउनुभयो ।

पर्यटन प्रवद्र्धनमा समेत मद्दत पुर्याउने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ । नागरिक उड्डयन प्रधिकरणका इञ्जिनियर तथा आयोजना प्रमुख मनोज भट्टराईले आगामी असोजसम्ममा दोस्रो परीक्षण उडान गर्ने लक्ष्य रहेको बताउनुभयो । इलाम नगरपालिका–९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक परीक्षण उडान भइसकेको छ ।

यसैबीच पर्यटनमन्त्री भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताउनुभएको छ । उहाँले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरुप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम भइरहेको जानकारी गराउनुभयो । रासस