जनता टाइम्स

४ भाद्र २०७६, बुधबार १९:५९

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने दृढता : प्रम ओलीलाई जयशंकरले दिए मोदीको यस्तो सन्देश


काठमाडौं, भदौं ४ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता पुनः दोहोर्याएका छन । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठकमा भाग लिन भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिने भ्रमणमा रहनुभएका भारतका बिदेशमन्त्री एस जयशंकरले आज अपराह्न प्रधानमन्त्री ओलीसँग भएको भेटपछि आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको जानकारी दिनुभयो ।

‘सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री जयशंकरले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगत रुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताउनुभयो,’ बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भन्नुभयो । प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताउनु भएको थियो ।

भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति प्रधानमन्त्री ओलीले आभारसमेत व्यक्त गर्नुभएको छ । सो अवसरमा भारतीय बिदेशमन्त्री जयशङ्करले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पुर्याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गर्नुभएको जानकारी प्रधानमन्त्री ओलीलाई गराउनु भएको थियो ।

भेटमा दुवै पक्षबाट दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत प्रकट भएको थियो । भेटपछि बिदेश मामिला सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित ईपीजीको प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिनुभयो ।

भेटमा सहभागी परराष्ट्र सचिव शंकरदास वैरागीका अनुसार भेटमा नेपालको विकास र सम्पर्क सञ्जाल विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान, डुबानलगायत समस्याका साथै आपसी हित र चासोको विविध विषयमा विचारविमर्श भएको छ । प्रधानमन्त्री ओली र मन्त्री जयशंकरबीच बिनासहयोगीको उपस्थितिमा एक घण्टाभन्दा बढी छलफलसमेत भएको थियो । त्यसपछि दुवै देशका उच्च अधिकारी बैठकमा सहभागी भएका थिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालमा स्वागत गर्न आफूहरु आतुर रहेको भन्दै नेपाल भ्रमणको पुन निम्तो समेत दिनुभएको थियो । भारतीय बिदेशमन्त्री जयशंकर आज अपरान्ह काठमाडौं आइपुग्नुभएको हो । उहाँ भोलि स्वदेश फर्कने कार्यक्रम रहेको छ ।