जनता टाइम्स

४ भाद्र २०७६, बुधबार २१:००

नेपालमा लगानी बढाउने चीन र इयूको बाचा, अर्थमन्त्री खतिवडाले दिए यस्तो अफर


काठमाडौं, भदौं ४ । अर्थमन्त्री डा. युवराज खतिवडासँग नेपालका लागि चिनिया राजदुत होउ यान्कीले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । भेटघाटको क्रममा चिनीया कम्पनीहरुबाट नेपालमा भइरहेका निर्माण कार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा संचालित परियोजनाहरुको प्रगतिको विषयमा छलफल गरिएको थियो ।

भेटका क्रममा तत्कालका लागि काठमाडौं–कोदारी–काठमाडौं–रसुवागढी र कोरला नाकामार्फत आवागमन आवद्धता बढाउने विषयमा छलफल भएको थियो । काठमाडौं चक्रपथको दोस्रो चरणको निर्माण कार्य अघि बढाउने तयारी कार्य र चिनिया वित्तीय संस्थाको नेपालको पूर्वाधार विकासमा लगानी बढाउनेबारेसमेत भेटघाटका अवसरमा छलफल भएको थियो ।

त्यसैगरी आज नै अर्थमन्त्री र नेपालका लागि यूरोपियन युनियनका राजदूत एम.एस. भिरोनिका कोडीबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भई नेपालका लागि यूरोपियन युनियनको सहयोग र द्विपक्षीय हितका विषयमा छलफल भएको छ । भेटका क्रममा राजदूतले पछिल्लो समयमा यूरोपियन युनियनले नेपाललाई बजेटरी सहायताको रुपमा आर्थिक सहायता बढाउँदै लगेको कुरा जानकारी दिनुभयो ।

सो अवसरमा अर्थमन्त्री खतिवडाले परियोजना कार्यान्वयन गर्ने निकायहरुले नै स्वामित्व लिने गरी क्षमता विकासमा यूरोपियन युनियनको प्राविधिक सहयोग खर्च गर्नुपर्ने र नेपालको क्षमता नभएका विषयमा मात्र नेपालको बस्तुस्थितिको बारेमा अवगत भएको अन्तराष्ट्रिय परामर्शदाताहरु परिचालन गर्नुपर्ने विषयमा जोड दिनुभयो ।