जनता टाइम्स

४ चैत्र २०७९, शनिबार १७:३८

यी अभिनेत्रीको कुनै समय पाँच हजार जुत्ता र आठ हजार ड्रेस थिए –अन्त्यमा बाँच्नका लागि अर्काले फालेको खाने दिन आयो !


एजेन्सी, ४ चैत । ‘खानाको ख्याल गरिनँ, दिनहुँ ५ तारे होटेलबाट खाना अर्डर गरेर साथीहरूलाई खुवाउँथें, उब्रेको डस्टबिनमा फाल्ने गर्थें, त्यही कर्मको परिणाम हो कि आज म खानाका लागि सडकमा आश्रित छु । सडकमा सडेर फालेको तरकारी ल्याउँछु, पकाएर खान्छु ।’ चलचित्र अभिनेत्री तबस्सुमको अगाडि आफ्नो अवस्था सुनाउने अभिनेत्री हुन् कुक्कु मोरे ।

४० देखि ६० को दशकको बीचमा कुक्कुको डान्स नभएको सायदै कुनै फिल्म हुदैनथ्यो । उनलाई हिन्दी सिनेमाको पहिलो आइटम गर्ल मानिन्छ । उनको एउटा गीतको डान्स शुल्क ६ हजार लाग्ने गर्दथ्यो, त्यतिबेला कुनै पनि अभिनेत्रीले पुरै फिल्ममा काम गरे पनि त्यति पैसा पाउन सकेनन् । त्यतिबेला सुनको मूल्य प्रतितोला ६० रुपैयाँ थियो ।

अभिनेत्री कुक्कु आलिशान घरमा बस्ने गर्दथिन् उनीसँग ८ हजार ड्रेस (लुगा) र ५ हजार जोडी जुत्ताको संग्रह थियो । ३ वटा लक्जरी कारहरू थिए, जसमध्ये एउटा कुकुरहरूको लागि मात्र थियो । दैनिक ५ तारे होटेलबाट खाना अर्डर गर्थिन्, तर समयले अर्कै मोड लियो र कुक्कुको बास महलबाट सडकमा पुग्यो । । बाँच्नको लागि पैसा बाँकी थिएन । सडकमा फ्याँकेका तरकारी उठाएर पकाएर खान्थिन् ।

कुनै समय फिल्मी पार्टीको जीवन बनेकी कुक्कुले आफ्नो अन्तिम दिन चरम गरिबी र एक्लोपनमा बिताउनु प¥यो । उनको निधनमा उनलाई बिदाइ गर्न चलचित्र जगतका कोही पनि साथी आएनन् ।

हेलेनलाई उनैले फिल्म क्षेत्रमा ल्याएको मानिन्छ । हेलेन र वैजयन्ती चम्कन थालेपछि कुक्कुको उमेर ढल्कदै पनि गयो र उनले फिल्ममा काम पाउन छाडिन् । उनको स्थानमा हेलेन र वैजयन्तीले लिन थाले । आम्दानी घटे पनि शान सौकत नघटाउँदा र आयकर विभागले घरमा छापा मार्दा उनी सडकमा आउनु पर्यो ।