जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ०८:११

अदालतकै कर्मचारी डेढ लाख घुससहित पक्राउ


महोत्तरी, भदौ ५

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला अदालत महोत्तरीका कर्मचारीलाई एक लाख ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ । अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले जिल्ला अदालत महोत्तरीका कर्मचारी मोहनप्रसाद यादवलाई एक लाख ५० हजार रूपैयाँ घुससहित बुधबार पक्राउ गरेको हो ।

जिल्ला अदालत महोत्तरीका सर्वेक्षक मोहन यादवले घर नापनक्सा अनुसार नभएको भन्दै मुद्दा मिलाइदिने बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियारको टोली पुगेको थियो । आयोगको टोलीले नापी सर्वेक्षक यादवलाई सेवाग्राहीबाट घुस वापतको एक लाख ५० हजार रूपैयाँ लिइसकेको अवस्थामा जलेश्वर नगरपालिका२, खैरा चौकबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।