जनता टाइम्स

६ चैत्र २०७९, सोमबार ०८:१९

प्रिमियर लिग : शीर्ष स्थानको आर्सनलको सहज जित, क्रिस्टल प्यालेस ४–१ गोल अन्तरले पराजित


काठमाडौं, ६ चैत्र ।  इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ गोल अन्तरले हराएको छ । गएराति भएको खेलमा आर्सनलले फराकिलो जित निकालेको हो ।

खेलको २८औँ मिनेटमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि ४३औँ मिनेटमा बुकायो साकाले गोल गरे भने ५५औँ मिनेटमा ग्रानिट जाकाले गोल गरे । यस्तै खेलको ७४औँ मिनेटमा बुकायो साकाले फेरि अर्को गोल गर्दै आर्सनललाई ४–१ को जित दिलाए ।

क्रिस्टल प्यालेसका लागि खेलको ६३औँ मिनेटमा जेफ्री श्लपले एक गोल गरे । जितसँगै आर्सनलले म्यानचेस्टर सिटीसँगको अङ्क दूरी बढाएको छ । आर्सनलले २८ खेलमा ६९ अङ्क जोडेको छ भने दोस्रो स्थानमा रहेको सिटीको २७ खेलमा ६१ अङ्क छ । यस्तै, तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५० अङ्क छ । क्रिस्टल प्यालेस २७ अङ्कका साथ अङ्क तालिकाको १२औँ स्थानमा छ ।