जनता टाइम्स

७ चैत्र २०७९, मंगलवार ०६:५५

ठेकेदारले विद्यालयमा तालाबन्दी गर्दा पढाइ ठप्प


सल्यान, ७ चैत । सल्यानको एउटा सरकारी विद्यालयमा तालाबन्दी हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालय भवन निर्माण गरेको रकम भुक्तान नभएको भन्दै चार दिन पहिले देखि लागेको ताला नखुल्दा पठनपाठन हुन सकेको छैन ।

त्रिवेणी गाउँपालिका–१ रिठाचौर काभ्राको जनता माध्यमिक विद्यालयमा भुक्तानी नपाएको भन्दै ठेकेदार ९निर्माण व्यवसायी०ले विद्यालयका २ भवनमा तालाबन्दी गरेपछि पठनपाठन प्रभावित भएको हो। ८ कोठे र ४ कोठे दुई भवनमा तालाबन्दी हुँदा विद्यार्थीको पढाइमा समस्या भएको छ । विद्यालयका सह प्रधानाध्यापक कृष्णबहादुर बुढाथोकीले विद्यालयमा तालाबन्दी हुँदा कक्षा ४, ५, ८, ९, १०, ११ र १२ कक्षाका विद्यार्थीको पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।

उहाँका अनुसार ठेकेदारले ताला लगाएपछि भवन अभाव हुँदा दुइटा कक्षाका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउनुपर्ने बाध्यता रहेको छ। यहाँ एसइईको परीक्षा केन्द्र पनि निर्धारण भएको छ ।

विद्यालयमा ताला लागे पछि पढाई प्रभावित भएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी मीनराज खड्काले नयाँ भवनमा डिजिटल प्रविधिबाट पढ्दै आइरहेका थियौँ तर त्यहाँ ताला लागेपछि कक्षा ११ र १२ का विद्यार्थी साथै बसेर पढ्नु परेको बताउनुभयो । विद्यालय भवन निर्माण कम्पनी (ठेकेदार) विरुद्ध अख्तियारमा मुद्दा परेकाले विद्यालयको खातामा आएको रकम निकासा गर्न समस्या भएको विद्यालय प्रशासनले जनाएको छ।

यता त्रिवेणी गाउँपालिकाले भने विद्यालयको खातामा रकम हालिसकेकाले ठेकेदारलाई रकम दिने नदिने विद्यालयको हातमा रहेको जनाएको छ। गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले अख्तियारले छानबिन गरिरहेकाले गाउँपालिकाका प्राविधिक गएर भवनको अन्तिम रिपोर्ट दिन नसक्ने बताउनुभयो । उहाँका अनुसार विद्यालयमा लागेको तालाबन्दी खोल्न सहजीकरणको पहल भइरहेको छ । गोरखापत्रमा समाचार छ ।