काठमाडौं, भदौ १३ । क्यान्सर उपचारमा अत्यावश्यक मानिएका ‘सिस्प्लाटिन’ र ‘कार्बोप्लाटिन’ औषधि बजारमा तीन महिनादेखि अभाव भएको छ । सरकारले आपूर्ति सहज भइरहेको दाबी गरे पनि बिरामीले सहज रूपमा यी औषधि पाउन नसकेको जनाइएको छ ।
भारतीय बजारमा औषधिको मूल्य बढे पनि नेपालमा लामो समयदेखि मूल्य समायोजन हुन नसक्दा आयातकर्ताले यी औषधि कम मात्रामा आयात गरेका हुन् । खरिद मूल्यभन्दा कममा बिक्री गर्नुपर्ने अवस्था रहेको भन्दै व्यवसायीले आयात घटाएका छन् ।
प्लाटिनम समूहका सिस्प्लाटिन र कार्बोप्लाटिन पेट, स्तन, फोक्सो, अण्डाशय, ठूलो आन्द्रा र सानो आन्द्रालगायत विभिन्न प्रकारका क्यान्सरको उपचारमा प्रयोग हुने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन् ।
औषधि व्यवस्था विभागले गत जेठ २६ गते क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सनलगायत औषधि तोकिएका ११ वटा स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जनाएको थियो । तर, ती स्वास्थ्य संस्थामध्ये पनि कतिपयमा औषधि पर्याप्त छैन ।
काठमाडौंस्थित डीकेएम फर्मास्युटिकल्सका सुरजकुमार टिवडेवालले भारतबाट औषधि खरिद गरेर नेपाल ल्याउँदा महँगो पर्ने भएकाले अभाव भएको बताउनुभयो । उहाँका अनुसार भारतमा मूल्य बढे पनि नेपालमा मूल्य समायोजन नहुँदा खरिद मूल्यभन्दा सस्तोमा औषधि बिक्री गर्नुपर्ने अवस्था छ ।
सिजल फर्माका अञ्जन पुडासैनीले पनि सिस्प्लाटिन र कार्बोप्लाटिनको मौज्दात नरहेको बताउनुभयो ।
नेपालगञ्जस्थित जानकी अस्पतालका रञ्जित राजवंशीका अनुसार अस्पतालमा सिस्प्लाटिन छैन भने कार्बोप्लाटिन १५० एमजीको केही मात्रा मात्रै बाँकी छ ।
भक्तपुर क्यान्सर अस्पताल र चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित देशभरका स्वास्थ्य संस्थामा सिस्प्लाटिन, कार्बोप्लाटिन र अक्सालिप्लाटिनजस्ता प्लाटिनम–आधारित केमोथेरापी औषधिको अभाव रहेको जनाइएको छ ।
भक्तपुर क्यान्सर अस्पतालकी फार्मेसी इन्चार्ज अनिता दुवालका अनुसार अस्पतालमा कार्बोप्लाटिन १५० एमजी र ४५० एमजी तथा सिस्प्लाटिन ५० एमजी केही मात्रामा मात्रै छ । मौज्दात पर्याप्त नभएको र सकिन लागेको उहाँले बताउनुभयो ।
औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले बजारमा सिस्प्लाटिन र कार्बोप्लाटिनको अभाव रहेको स्वीकार गर्नुभयो । उहाँका अनुसार मूल्य समायोजनका लागि सरकारसँग पटक–पटक आग्रह गरिए पनि निर्णय हुन सकेको छैन ।
मूल्य समायोजन नहुँदा अभाव
भारतलगायत अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढे पनि नेपालमा आयातित औषधिको मूल्य लामो समयदेखि समायोजन हुन सकेको छैन । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा पुरानै मूल्य कायम रहेकाले घाटा खाएर औषधि बिक्री गर्नुपर्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ ।
नेपालमा विगत १० वर्षदेखि औषधिको मूल्य समायोजन हुन नसकेको जनाइएको छ । यसअघि ११७ प्रकारका औषधिको मात्रै मूल्य समायोजन भएको थियो । जबकि बजारमा १० हजारभन्दा बढी प्रकारका औषधि बिक्री हुने गरेका छन् ।
कच्चा पदार्थ र अमेरिकी डलरको मूल्य बढेका कारण अन्तर्राष्ट्रियस्तरमै औषधिको उत्पादन लागत बढेको अधिकारीहरूले बताएका छन् ।
नेपालमा हरेक वर्ष २२ हजारदेखि २६ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पहिचान हुने गरेको तथ्यांक छ । यस्तो अवस्थामा उपचारमा अत्यावश्यक औषधि नै अभाव हुँदा बिरामी थप समस्यामा परेका छन् ।
स्वास्थ्यमन्त्री निशा मेहताले गत असार ३ गते प्रतिनिधि सभाको बैठकमा एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बसेर मूल्य समायोजन गर्ने बताउनुभएको थियो । तर, उहाँले प्रतिबद्धता जनाएको दुई महिना बितिसक्दा पनि बैठक बस्न सकेको छैन ।
औषधि व्यवस्था विभागकी सूचना अधिकारी सचिता जोशीले सिस्प्लाटिन र कार्बोप्लाटिनलगायत औषधिको अभावबारे आयातकर्तासँग छलफल भइरहेको बताउनुभयो । उहाँका अनुसार ९७ वटा औषधिको मूल्य समायोजनबारे समेत छलफल भइरहेको छ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले अनुदानमार्फत क्यान्सर उपचारका केही औषधि प्राप्त भएको र अब सरकारी अस्पतालमा पठाउन सुरु गरिने बताउनुभयो । उहाँका अनुसार सिस्प्लाटिन र कार्बोप्लाटिनसहित केही औषधि प्राप्त भइसकेकाले केही दिनमा आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।














प्रतिक्रिया दिनुहोस्