जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार ११:४८

राष्ट्रपति भण्डारीसँग भारतीय विदेशमन्त्री जयशंकरको भेट, यस्तो भयो दुई कुराकानी


काठमाडौं, भदौ ५

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनु भएका भारतीय विदेशमन्त्री एस जयशंकरले भेटवार्ता गर्नुभएको छ । विहिवार विहान राष्ट्रपति भवन शीतल निवास पुगेर उहाले राष्ट्रपतिसमक्ष भेटवार्ता गर्नुभएको हो ।

भेटमा द्विपक्षिय हितका विषयमा कुराकानी भएको थियो । यसैगरी आपसी सम्वन्ध थप मजबुत बनाउने र सहयोगहरु आदानप्रदान गर्ने बारे पनि कुराकानी भएको बताइएको छ । जयशंकर नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुग्नु भएको थियो ।

त्यसअघि उहा आज विहान पशुपतिनाथको दर्शनका लागि पुग्नु भएको थियो । पशुपतिनाथ मन्दिरको पश्चिम द्वारसँगैको ढुंगेधारा नजिकै पारिजातको बिरुवा रोपिसकेपछि उहाले पशुपतिनाथको दर्शन गर्नुभएको थियो । उहाले झण्डै आधा घण्टा पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिनुभयो । त्यसपछि डा. ढकालले विदेशमन्त्री जयशंकरलाई मायाको चिनो स्वरुप शिवलिंग प्रदान गर्नुभएको थियो ।

जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आउनु भएको हो । उहाले बुधबार नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको थियो । उहा आजै अपरान्ह स्वदेश फर्कने कार्यक्रम छ ।