जनता टाइम्स

१० चैत्र २०७९, शुक्रबार १९:३८

भैंसीको अगाडि बीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै हो : केपी ओली


काठमाडौं, चैत १० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सुझाव दिनुको कुनै औचित्य नरहेको बताउनु भएको छ ।

काठमाडौंमा भृकुटी मण्डपमा चलिरहेको जुत्ता चप्पले मेलामा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । उहाँले भैंसीको अगाडि बीन बजाउनु र वर्तमान सरकारलाई सुझाव दिनु उस्तै रहेको बताउनु भयो । कार्यक्रममा ओलीले नेपाली उद्योगको प्रवर्द्धनका लागि सरकारले कच्चा पदार्थको आयात सहज र सस्तो बनाउनुपर्ने पनि बताउनु भयो ।

‘हुन त अहिलेको सरकारलाई सुझाव दिने भनेको हिन्दी उखान, भैँसके आगे बीन बझाए, भैँस रहे पगराए भने जस्तै छ । भैँसीको अगाडि बीन बजायो भने उग्राएर बस्छ । त्यो केही मतलब राख्दैन । त्यस्तै हो । अहिलेको सरकारलाई सुझाव दिने कुरा पनि,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हिजो लुटेर लिएर जुत्ता लगाउनु र आज भन्सारतिरबाट लुट फर्स्यौट गर्नु एउटै कुरा हो । तपाईंहरुको अघि मैले भने नि । ५०/५३ प्रतिशत त लुटेकै छ नि त । स्वदेशी उत्पादनले संरक्षण पाएको छैन अहिलेसम्म । त्यसलाईं संरक्षण दिनुपर्छ । त्यसका लागि कच्चा पदार्थको सहज र सस्तोमा पाउने अवस्था र यसमाथिको भ्रष्ट हस्तक्षेप नेपाली उत्पादनमाथिको भ्रष्ट हस्तक्षेप त्यो व्यापारिक क्षेत्र र सरकारी क्षेत्र भएको छ । त्यसलाई रोक्नु पर्छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले स्वदेशी वस्तुको उत्पादनमा बढावा दिन सरकारले नै स्वदेशी वस्तुको उपयोग हुने खालको नीतिलाई जोड दिनुपर्ने पनि बताउनु भयो ।