जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १४:२३

पोखराको वन क्याम्पसमा अनेरास्ववियुका समीर कार्की विजयी


कास्की, १३ चैत । पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका समीर कार्की विजयी हुनु भएको छ । समीरले २९५ मत ल्याउँदा उहाँका निकट्म प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मुवारक अली गद्दीले १४७ मत मात्र प्राप्त गर्नुभयो ।

आइतबार भएको निर्वाचनमा ४३४ मत खसेको थियो । वन विज्ञानमा ४८० मतदाता थिए । स्ववियु निर्वाचनको लागि कास्कीमा एमालेनिकट अनेरास्ववियु र माओवादी निकट अखिल क्रान्तिकारीको संयुक्त मोर्चा बनेको थियो । दुई संगठनबीच अनेरास्ववियुले सभापति, कोषाध्यक्ष, ३ सदस्य र अखिल क्रान्तिकारीलाई सचिव र दुई सदस्य पाउने गरी भागबण्डा गरिएको थियो ।

आज सार्वजनिक नतिजाअनुसार सचिवमा क्रान्त्रिकारीका धिराजन परियार, कोषाध्यक्षमा सुस्मिता कोइराला विजयी भए। सदस्यहरुमा अनेरास्ववियुका महादेव सिंह, अनिशा आचार्य, गरिमा गुरुङ निर्वाचित भएका छन्। यस्तै क्रान्तिकारीका लोकराज थापा र दीपा कार्कीले पनि स्ववियु सदस्यमा विजय प्राप्त गर्नुभयो ।