जनता टाइम्स

१३ चैत्र २०७९, सोमबार १९:४२

बोका र पाठालाई पनि संगीनी सूई लगाएपछि


गुल्मी, चैत १३ । परिवार नियोजनको अस्थायी साधनको रुपमा महिलाले प्रयोग गर्ने तीन महिने संगिनी सुइ बोका, पाठामा लगाइएको तथ्य फेला परेको छ । गुल्मीको धुर्कोट गाउँपालिकामा यस्तो बदमासी भएको तथ्य फेला परेको हो ।

गाउँपालिकाको वडा नम्बर १ नयाँगाउँ र वडा नम्बर ७ वाग्लाका निजी क्षेत्रमा काम गर्ने पशु प्राविधिक तथा ग्रामीण पशु स्वास्थ्य कार्यकर्ताहरूले बोका र पाठालाई संगिनी सुइ लगाइदिएको पाइएको तथ्य गाउँपालिका स्वयंले उजागर गरेको छ ।

संगिनी सुइ एक हर्मोनल साधन हो । जसले महिलाको शरीरमा हुने हर्मोनलाई व्यवस्थित गरी गर्भ रहन दिँदैन । तर तौल बढ्ने भन्दै पशु स्वास्थ्य कार्यकर्ताहरुले बोका र पाठामा यस्तो तीन महिने सुइ लगाउने गरेको पाइएको हो ।

बदमासी निकै बढेपछि गाउँपालिकाले सूचना नै जारी गरेर यस्तो कार्य नगर्न भनेको छ । गाउँपालिकाले तीन महिने संगिनी सुइ हर्मोनल साधन भएकोले मानव शरीरमा दीर्घकालीन असर पर्न जाने भन्दै पशुमा यो सुइ प्रयोग नगर्न सूचना जारी गरेको हो ।