जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार १३:३३

साहसिक ‘खेल–पर्यटन हव’ बन्दै पनौतीको कुशादेवी क्षेत्र


काभ्रे, १५ चैत । पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुआतले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ ।

रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गर्नुभएको हो । उहाँले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली पनि थपिएको बताउनुभयो ।

एकपटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातोपहरामा रकक्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले बताउनुभयो । उहाँका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रकक्लाइम्बिङ गर्न सक्नेछन् । जर्मनबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला रकक्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रकक्लाइमिङ गर्न सकिन्छ । वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित रु १० लाखबाट हाल रकक्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँका अनुसार यसमा ‘बेस वाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ ।

साथै वडा कार्यालयले रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्यको प्रक्रिया सुरु गरेको छ । फुल्चोकी क्षेत्रलाई साहसिक खेल–पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागेको अधिकारीले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ ९मनोरञ्जनात्मक उड्डयन सञ्चालन० सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ ।

दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा झर्नेछ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने झर्ने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।

पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यस वर्ष ‘हाइकिङ ट्रेल’को विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइक्लिङ’ को सुरुआत गरेको थियो ।

उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकल मार्ग तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकल चलाएका थिए ।

गत भदौ पहिलो साता शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड््डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता रहेको थियो ।

यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल ९लो–ल्याण्ड ट्रेक०, साँगा–पनौती हाइक ९कम्युनिटी हाइक०, गुर्दूम–महाभारत पदयात्रा, माउन्टेन बाइक ९फुल्चोकी वरिपरि०, बर्ड वाचिङ ९चराको दृश्यावलोकन०, योग ‘रिट्रिट’, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।