जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १७:३८

रविको पक्ष–बिपक्षमा गालीगलौज वा फेसबुक, ट्वीटरमा भिडियो सेयर गर्नेहरु अव जाने भए जेल


चितवन, भदौं ५ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेको विषयमा फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल र युट्युबमा गालीगलौज गर्नेबिरुद्ध प्रहरीले कार्वाही थालेको छ । घटनालाई अन्यत्रै मोड्न खोज्ने गरी सामाजिक सञ्जालमा पक्ष वा बिपक्षमा गालीगलौज भएको भन्दै प्रहरीले आक्रामक कार्वाही थालेको हो ।

अनुसन्धानलाई नै प्रभावित पार्ने गरी प्रहरीमाथि लाल्छना लगाउने, भीडलाई उत्तेजित बनाउने, हुँदै नभएका काल्पनिक कुराहरु श्रव्यदृश्य, फोटो वा टेक्समार्फत सार्वजनिक गर्ने र भएका घटनालाई उत्तेजित पार्ने गरी सामाग्रि प्रस्तुत गर्ने र शेयर गर्नेबिरुद्ध कारबाही थालिएको हो ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार अव घरघरमै पुगेर नियन्त्रणमा लिने र साइबर क्राइमको मुद्दा दर्ता प्रकृया सुरु गरिएको छ । फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमा पोष्ट भएका सामग्रीको निगरानी गरेर अभिलेख राख्न थालिएको जानकारी पनि एसपी मल्लले दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय चितवनले हिजो एक जनालाई पक्राउ गरी कारबाही गरिसकेको जानकारी दिँदै एसपी मल्लले अब घरघरमै पुगेरै गलत सामग्री प्रेषण गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको बताउनु भयो । सामाजिक सञ्जालमा प्रहरीका अधिकारी, राजनीतिक दलका नेता र केही व्यक्तिविरुद्धसमेत लामिछानेको समर्थन वा विरोधमा गलत काम भैरहेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले विभिन्न ठाउँमा भएका प्रदर्शनबाट नियन्त्रणमा लिइएका झण्डै दुई दर्जनविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । प्रहरीमाथि आक्रमण गर्ने, भीडलाई उत्तेजित बनाउने र उश्रृङ्खल क्रियाकलापमा सामेल झण्डै दुई दर्जनविरुद्ध मुद्दा दर्ता गरिएको हो । उनीहरुविरुद्ध सार्वजनिक अपराधको मुद्दा दर्ता गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेको पक्ष र विपक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ । प्रदर्शनमा आपत्तिजनक नारा लगाउने, युटुवर देख्नेबित्तिकै गालीगलौज गर्ने काम बढेपछि प्रहरी एक्श्नमा उत्रिएको हो ।