जनता टाइम्स

५ भाद्र २०७६, बिहीबार १८:२१

त्यस्तो कुकाम मबाट कहिल्यै हुन्न : माधव नेपाल


काठमाडौ, भदौ ५ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधकुमार नेपालबीच भनाभन भएको छ । केन्द्रीय बिभाग र जनसंगठनको इञ्चार्ज सहइञ्चार्ज छनोट तथा बरियताको बिषयमा बिवाद चलिरहेको बेला प्रधानमन्त्री ओली स्वास्थोपचारका लागि सिंगापुर जानुअघि आज बसेको बैठकमा दुई नेताबीच चर्काचर्की परेको हो । बरिष्ठ नेता नेपालले आजको बैठकमा अध्यक्ष ओलीसँग केही नमिठो घटना भएको स्वीकार गर्नुभयो ।

जनताटाइम्ससँग कुरा गर्दै नेता नेपालले बिधि र प्रक्रियाअनुसार पार्टीमा कार्यबिभाजन गरौं भन्ने आफ्नो कुरा सुनुवाइ नभएको र अध्यक्ष ओलीले पेल्न खोजेपछि प्रतिवाद गर्दा अवस्था केही असहज र तितो बन्न पुगेको बताउनु भयो । उहाँले आफूले अध्यक्ष ओलीको स्वास्थ्यलाभको कामना भने गरेको बताउनु भयो । ‘बैठकमा केही नहुनु पर्ने कुरा भयो, उहाँ (अध्यक्ष ओली) ले स्वास्थ्यबारे सधै नकारात्मक कुरा गर्ने भन्दै चार्ज लगाउनु भयो, मैले स्वास्थ्य लाभको कामना गरें, तर उहाँले सधै मेरो स्वास्थ्यमाथि नकारात्मक कुरा गर्ने ? चाहिँदैन तपाईंको शुभकामना भन्नुभयो,’ जनताटाइम्ससँग नेता नेपालले भन्नुभयो । उहाँले आफू अध्यक्ष ओलीको स्वास्थ्यबारे निकै सम्वेदनशील रहेको र कहिल्यै पनि नकारात्मक टिप्पणी नगरेको बताउनु भयो ।

‘मैले कहिल्यै उहाँको स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गरेको छैन, कँही कतै भेटिएछ भने जस्तोसुकै सजाय भोग्न तयार छ, म जस्तो मान्छेले स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गर्छु ? मबाट कहिल्यै हुन्न त्यस्तो कुकाम,’ नेता नेपालको भनाई थियो । प्रधानमन्त्रीले माग्दासमेत स्वास्थ्यलाभ नगरेको बिषय सार्वजनिक भएपछि जनताटाइम्स डटकमले बरिष्ठ नेता नेपालकै निवास कोटेश्वरमा उहाँसँग बुझ्ने प्रयाश गर्यो । प्रस्तुत छ, बरिष्ठ नेता नेपालसँग जनताटाइम्सका लागि गणेश बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित अंश ।

सचिवालय बैठकमा तपाईंले अध्यक्ष केपी शर्मा ओलीबीच चर्काचकी पर्यो रे नि, किन होला ?

त्यस्तो बाहिर आएजस्तो बाजाबाज भएको होइन । त्यस्तो खासै केही भएको होइन । वातावरण अलिक बिग्रेको चाँहि पक्कै हो । केही कुरा मेरो थियो, उहाँको पनि कुरा थियो, पार्टीलाई बिधिबाट चलाउँ भन्दा मान्नु भएन, मलाई पेल्न खोज्नुभयो, म पनि पेलिने मान्छे होइन । प्रतिवाद गरें । त्यसैमा बातावरण बिग्रियो ।

उपचारका लागि सिंगापुर जान लाग्नुभएको अध्यक्षलाई स्वास्थ्यलाभको कामना समेत गर्नुभएन रे तपाईले ?

यो चाँहि अलिक अर्कै गरी समाचार आयो । हामीबीच केही तितो कुराकानी वा सवाल जवाफ भएपनि मैले उहाँ (ओली) लाई स्वास्थ्यलाभको कामना छ भनें । तर उहाँले तपाईंको स्वास्थ्यलाभको कामना चाहिँदैन, सधैँभरी मेरो स्वास्थ्यको बारेमा नकारात्मक कुरा गर्ने भन्नुभयो । मैले कहाँ, कहिले, को सँग यस्तो नकारात्मक कुरा गरें भन्दै प्रतिवाद गरें । मैले कहिल्यै तपाईको स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गरेको छैन, कँही कतै भेटिएछ भने जस्तोसुकै सजाय भोग्न तयार छ, म जस्तो मान्छेले स्वास्थ्यको बिषयमा नकारात्मक टिप्पणी गर्छु ? मबाट कहिल्यै हुन्न त्यस्तो कुकाम भनें । भएको यही हो ।

स्वास्थ्यलाभको कामना गर्दा चाँहिँदैन भन्नुभयो भनेर तपाईले फेरि रिस पोख्नुभएको जस्तो छ ?

उहाँले जे भन्नुभयो, मैले त्यही कुरा तपाईलाई भनेको हो । अव उहाँको बानी तपाईंहरु सवैलाई थाह छ । रिसाएपछि के गर्नुहुन्छ भन्ने कुरा ? मैले अलिक बढी जोड दिएर प्रतिवाद गरेपछि रिसाउनु भयो । उहाँले मलाई अलिकति चार्ज लगाउनुभो, तपाईं मेरो स्वास्थ्यप्रति जहिले पनि नकारात्मक कुरा गर्नुहुन्छ भनेर । मैले भनेँ, एउटा पनि प्रमाण देखाउनुस, एउटा पनि प्रमाण छन् भने छानबिन कमिटी बनाउनुस । छानविन गरौं, दुधको दुध, पानीको पानी हुन्छ भन्दै म पनि जंगिए । त्यो अलिकति नमिठो स्थिति बन्यो । अरु केही होइन ।

बोलचाल नै बन्दको स्थिति पो बनेजस्तो छ नि कुरा सुन्दा त ?

तपाईहरुलाई त्यस्तो लाग्न सक्छ । मलाई लाग्दैन । ४५ बर्षदेखि मैले यस्ता वाद–बिवाद, सम्वाद, छलफल अनि सहमतिको यात्रा पार गरेको छु । केपीजी र म बाद–बिवादबाट धेरै माथि छौं । हामी दुवैले एक अर्कालाई बुझेका छौं । कहिले काँही यस्ता तितो कुरा हुन्छ । तर यस्ले पार्टीको एकता र काममा कुनै असर पर्दैन ।