जनता टाइम्स

१६ चैत्र २०७९, बिहीबार १७:४९

बैंकर्स संघले दियो आगामी दिनमा खराब कर्जा अझै बढ्ने चेतावनी


काठमाडौं, चैत १६ । नेपाल बैंकर्स संघले बाणिज्य बैंकहरूमा आगामी वर्ष खराब कर्जा बढ्नसक्ने चेतावनी दिएको छ । बैंकर्स संघका अध्यक्ष सुनिल केसीले केही क्षेत्रको लगानी उठाउन समस्या देखिएको भन्दै अहिलेको तुलनामा आगामी वर्ष खराब कर्जा बढ्ने संकेत गर्नुभएको हो ।

बैंकर्स संघले आज आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष केसीले कित्ताकाट रोकिँदा घरजग्गा कारोबार कम भएको र यसले खराब कर्जामा दबाब सिर्जना गरेको बताउनु भयो ।

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत रहनुभएका केसीका अनुसार अहिले खराब कर्जा औसत २.४९ प्रतिशत छ । यस्तै पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेकै कारण पर्यटन क्षेत्रको लगानी फस्टाउने आशले लगानी गरेपनि अहिले त्यही क्षेत्रको लगानीमा समस्या भएको छ ।

उहाँले साना तथा मझौला उद्योग, निर्माण क्षेत्र, पोल्ट्रिफार्मलगायतको ऋण डिफल्ट हुने सम्भावना देखाउँदै नोक्सानको सम्भावना भने कम रहेको बताउनु भयो । अहिले बैंकहरूले दिएको ऋणको ७० प्रतिशत धितो भएकाले बैंक नोक्सानमा नजाने जानकारी पनि दिइएको छ ।

पत्रकार सम्मेलनमा एभरेष्ट बैंकका सीईओ सुदेश खालिङले अहिले सबैभन्दा बढी मारमा निर्माण क्षेत्र भएकाले निर्माण क्षेत्रको भुक्तानी नहुँदा बैंकको खराब कर्जा बढ्ने बताउनु भयो । ‘चौथो त्रैमाससम्म असहज अवस्थामा रह्यौ भने सरकारले अहिले दिएको सहुलियतलाई निरन्तरता दिनुपर्छ । निर्माण क्षेत्रको भुक्तानी सरकारले समयमै गर्‍यो भने त्यो रकम बजारमा आउने र खराब कर्जाको व्यवस्थापनमा सजिलो हुन्छ,’ खालिङले भन्नुभयो ।

पत्रकार सम्मेलनमा बैकर्स संघले अहिलेको ब्याजदर उच्च नभएको दाबी समेत गरेको छ । नेपालमा सामान्यतया संकटको बेलामा (माहामारी, प्राकृतिका प्रकोप) मात्र व्याजदर एकल अंकमा हुने गरेको संघको जिकिर छ ।