जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार ०७:२५

थ्रीस्टार खप्तड गोल्डकपको उपाधि नजिक


धनगढी, १७ चैत । घरेलु टोली सुदूरपश्चिम(११ लाई पराजित गर्दै थ्रीस्टार क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा पुगेको छ। स्टार खेलाडीले भरिएको थ्रीस्टारले पेनाल्टी शुटआउटमा घरेलु टोलीलाई ४(२ गोल अन्तरले स्तब्ध पार्दै उपाधि होड यात्रा तय गरेको हो। उपाधिका लागि थ्रीस्टारले मनाङ मस्र्याङ्दीको सामना गर्नेछ।

थ्रीस्टारका गोलरक्षक मोहम्मद ताहाले पेनाल्टी शुटआउटमा सुदूरपश्चिम(११ का विमल ओली र विष्णु चौधरीको प्रहारलाई रोक्दै आफ्नो टिमलाई फाइनलमा पु¥याउनुभयो। खेलमा भने थ्रीस्टारका कप्तान विक्रम लामा नायक घोषित भइ पुरस्कृत हुनुभयो।

निर्धारित समयको खेल १(१ गोलको बराबरीमा टुङ्गिएपछि फाइनल पुग्ने टोली छान्न खेल पेनाल्टी शुटआउटमा धकेलिएको थियो। पेनाल्टी शुटआउटकै लागि सुदूरपश्चिमका प्रशिक्षक गजेन्द्र शाहीले नियमित गोलकिपर आकाश बुढाको ठाउँमा दीपक बोहरालाई पठाउनु भएको थियो। तर, उहाँको रणनीति सफल हुन सकेन।

पहिलो हाफमा थ्रीस्टारले सुदूरपश्चिम(११ लाई दबाबमा राखेको थियो। तर, दीपेश गुरुङ रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि थ्रीस्टारको लय केही हद्सम्म बिग्रेको थियो। पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेले।

१० खेलाडीमा सीमित भएको थ्रीस्टारमाथि सुदूरपश्चिम–११ ले दोस्रो हाफमा पनि दबाब बढाउन सकेन। खेलको ८२ औं मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामाले उत्कृष्ट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो। उहाँको हेडर सुन्दर गोलमा परिणत भएको थियो।

यद्यपि, थ्रीस्टारको अग्रता आठ मिनेटमात्रै कायम रह्यो। थ्रीस्टारका खेलाडीले गरेका गल्तीको फाइदा उठाउँदै सुदूरपश्चिम–११ का माधव भण्डारीले ९० औं मिनेटमा गोल फर्काएर दर्शक दीर्घामा उत्साह थप्नुभयो। खेलमा सुदूरपश्चिम–११ ले राम्रो प्रदर्शन गर्न नसके पनि अन्तिममा गोल फर्काएर खेल बराबरीमा पुर्या‍उन सफल भएको थियो। चैत १८ गते थ्रीस्टार र मनाङ मस्र्याङदी क्लबबीच फाइनल खेल हुनेछ। विजेता टोलीले २१ लाख रुपियाँ पुरस्कार प्राप्त गर्नेछ भने, उपविजेता टोलीले १० लाख रुपियाँमा चित्त बुझाउने छ।