जनता टाइम्स

१७ चैत्र २०७९, शुक्रबार १२:४५

भारत पुगेर उपचार गराइरहेका क्यान्सर पीडित राईलाई १७ लाख जुट्यो


खोटाङ, १७ चैत । क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ । क्यान्सर भएपछि विगत सात महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचार सहयोग जुटाइएको हो ।

आफ्नो गाउँठाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार वितरण लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियान्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सरपिडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो ।

गाउँ ठाउँको परिवर्तनका लागि योगदान दिएका समाजसेवी राईको जीवन बचाउका लागि १५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियान्ता मगरले जानकारी दिनुभयो । क्यान्सर पीडित राईको उपचारका क्रममा हालसम्म १८ लाख खर्च भइसकेको छ । डाक्टरको परामर्श अनुसार औषधि सेवनमा मात्र उहाँको मासिक दुई लाख खर्च भइरहेको छ ।

सात महिना यता महंगो औषधि सेवन गरिरहेका कारण उपचारमा सहयोग पुर्याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको अर्का अभियन्ता ईश्वर बन्जाराले बताउनुभयो । विभिन्न अभियान्ताबाट संकलन भएको रकमको चेक बिहिबार ललितपुरमा आयोजित कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गर्नुभएको छ ।

क्यान्सरसँग जुधिरहेका बेला सहयोग रकम जुटेको देख्दा रोगले गाँजे पनि ‘परोपकारी, निस्वार्थी र समाजसेवी व्यक्तिलाई शुभेच्छुकको साथ मिल्दोरहेछ’ भन्ने महसुस भएको राईले बताउनुभयो । क्यान्सर पिडित राईले यसअघि साकुमा फ्रेण्डसीप ट्रष्टमार्फत गाउँमा २१ वटा सामाजिक काम गर्नुभएको थियो ।