जनता टाइम्स

१८ चैत्र २०७९, शनिबार १८:४४

एमालेले यसकारण बनायो तनहुँ–१ मा सर्वेन्द्र र चितवन–२ मा रामप्रसादलाई उम्मेदवार


काठमाडौं, चैत १८ । नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ मा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएपछि दुवै निर्वाचन क्षेत्रका मतदाता तरंगित बनेका छन ।

आज बसेको एमाले सचिवालय बैठकले राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहुँ १ मा सोही जिल्लाका स्थायी बासिन्दा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । खनालले मंसिर ४ गते सम्पन्न निर्वाचनमै तहनुँ २ वा बारामा उम्मेदवार बन्न चाहनुभएको थियो । तर पार्टीले उहाँलाई काठमाडौं ६ मा उम्मेदवार बनाउने निर्णय गर्यो ।

सोही क्षेत्रबाट उम्मेदवार बन्नुभएका खनाल पराजीत हुनुभयो । अहिले पुनः तनहुँकै कार्यकर्ताको माग अनुसार खनाललाई सो निर्वाचन क्षेत्रमा उपनिर्वाचनमा उम्मेदवार बनाएको हो ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित चितवन २ मा सर्वाेच्चको फैसलासँगै पद गुमाउनु भएका लामिछाने नै पुनः उम्मेदवार बन्ने घोषणा गरिसक्नु भएको छ । सो निर्वाचन क्षेत्रमा एमालेले चितवनका चर्चित नेता रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको हो ।

एमाले चितवन जिल्ला अध्यक्ष न्यौपाने लामो समयदेखि चितवनको बिकास र जनताको सुख, दुःखमा साथ दिँदै आउनु भएको छ । सोही कारण कार्यकर्ता र मतदाताकै मागअनुसार उहाँलाई उम्मेदवार बनाउने निर्णय एमालेले गरेको हो ।

‘पार्टी नेता कार्यकर्ताको चाहना र मतदाताको समेत रोजाईका कारण उहाँहरुलाई उम्मेदवार बनाउने निर्णय भएको छ,’ बैठकपछि एमाले उपमहासचिव पुथ्वीसुब्बा गुरुङले भन्नुभयो ।

एमालेले उपराष्ट्रपति रामसहाय यादव निर्वाचित बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भने केही दिन अध्ययन पछि निर्णय गर्नै बताएको छ ।