जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार ०९:४७

उपनिर्वाचनको तयारीमा जुट्यो आयोग, ५१ स्थानमा हुने


काठमाडौं, भदौ ६

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको नाम प्रशोधन गर्न शुरु गरेको छ । विभिन्न कारणले रिक्त रहेका ५० स्थानमा हुने उप–निर्वाचनका लागि कार्यविधी निर्माणसहित मतदाताको नाम प्रशोधनको काम सुरु भएको निर्वाचन आयोगले जनाएको हो ।

यो प्रक्रियासँगै मतदाता शिक्षाका विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गर्ने आयोगको तयारी छ । यसबीचमा चाड पर्व समेत परेकाले त्यस अगावै निर्वाचनका प्रक्रिया सुरु गरिएको प्रवक्ता शंखर खरेलले जानकारी दिनुभयो । मतदाता नामावली संकलनसँगै दाबी बिरोधपछि सम्बन्धीत क्षेत्रको मतदाता नामावली तयार हुनेछ । यसबीचमा १८ वर्ष उमेर पुगेका मतदाताले नामावली संकलन गराए उप–निर्वाचनमा मतदानको उपयोग गर्न पाउने प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

यसैबीच भोजपुरको पौवादुङ गाउँपालिका १ मा पनि मंसिर १४ गते नै उप–निर्वाचन गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । यसअघि उपनिर्वाचनका लागि ५० स्थान टुंगो तय भएको थियो । सो वडामा पनि निर्वाचन भए, उपनिर्वाचन हुने कुल संख्या ५१ हुनेछ । साउन १८ गते निमोनियाका कारण वडाअध्यक्षको मृत्यु भएपछि सो वडा जनप्रतिनिधि बिहिन बनेको थियो । आयोगले मन्त्री परिषद्बाट त्यसको औपचारिक जानकारी आए सोही मितिमा निर्वाचन गर्ने जनाएको छ ।