यसिमा महत/काठमाडौं । एउटा भनाई छ नि ‘……….बाठो लड्छ तीन बल्ड्याङ ।’ यस्तै भएको छ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई । मंसिर ४ मा चुनाव जित्नैका लागि आफैले बोलेका कुरा अहिले मतदाताले सम्झाउन थालेपछि उनको ओठ तालु सुकेको छ । यसैले मतदाताको ध्यान अन्य मुद्दामा मोड्न उनले भर्खरै भनेका कुरा यसअघि अरुले नै सर्वोच्चमा रिटसमेत हालेर निक्र्योल भइसकेको कुरा हो भन्ने भेउ नै पाउन छाडेका छन् ।
उनले भर्खरै विदेशमा वस्ने नेपालीले पनि मतदान गर्न पाउन पर्ने बताएका छन्, जुन कुरा प्रवासी नेपाली मञ्च र एनआएनएले पहिल्यैदेखि उठाउँदै आएको विषय हो । त्यही कुरा अहिले उनले के-के न, नयाँ गतिलो मुद्दा उठाएभन्दा यो विषय पहिले नै अरूले उठाउँदै आएको विषय हो भन्ने भेउ नै नपाएर फसेका छन् । यतिखेर रविलाई आफैले हिजो ठूल्ठूलो स्वरले चिच्याउँदै भनेका कुराले गिज्याएको जस्तो लाग्न थालेको हुनुपर्छ ।
रविले अघिल्लो निर्वाचनमा बुढाहरूको दिन सकियो अब युवाको पालो भनेर युवाहरूको समानुभूति बटुल्न सफल भएका थिए । आज एमालेले उनीभन्दा युवा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । अब आफ्नै भनाई गलपासो भएपछि उनी रन्थनिएको हुनुपर्छ । हिजोको उनको अर्को मुख्य नारा थियो ‘नो, नट अगेन’ अहिले उनलाई यो नारा पनि सच्याउनु पर्ने वा मैले अर्कै प्रशंगमा भनेको हुँ भन्नुपर्ने अवस्थामा पुर्याएको छ ।
केहीअघिसम्म सांसद नभएको मान्छे मन्त्री बनाउन लाग्दा टेलिभिजनको पर्दामा कर्कश आवाजमा चिच्याउँथे । आज उनी स्वयं सोही कोटीमा पर्दछन् । सांसद पद खारेजीमा पर्दा पनि उनी गृहमन्त्री नपाएको झोंकमा पार्टीका अरु साथी मन्त्री भएको देख्न सकेनन् र सरकारबाट बाहिरिए तर समर्थन फिर्ता लिएनन् । जबकी यसअघिको सरकार रविको पार्टीले समर्थन फिर्ता लिए वा नलिए पनि राप्रपाले समर्थन फिर्ता लिएपछि पुनः विश्वासको मत लिनुपर्ने अवस्थामा थियो ।
अहिलेको सरकार पनि रविको पार्टीले समर्थन गर्नु र नगर्नुले डराउँदैन । तर, रवि समर्थन फिर्ता लिने पक्षमा छैनन, किनभने उनको जिब्रोले सत्ताको स्वाद चाखिसकेको छ । आफू जितेर फेरि प्रचण्ड र देउवाको पाउमा त्वं शरणं गरेर मन्त्री पड्काउने दाउ जो छ । टेलिभिजन प्रस्तोताकै रूपमा हुँदा उनी चिच्याउथें, चार उपप्रधान मन्त्री हुँदा भन्थे ‘यत्रो सानो मुलुकमा यत्रोविधि उपप्रधानमन्त्री किन बनाएको कलब्रेक खेल्न ?’ उनको यस्तो चिच्याहट दर्शक, श्रोताको कानमा ठोक्किन नपाउँदै उनी आफै जम्बो उपप्रधानमन्त्रीको लाइनमा उभ्भिए, तर कलब्रेक खेले खेलेनन् जनतालाई देखाउन आवश्यक सम्झेनन् ।
रविको पार्टीको घोषणा पत्रमा राष्ट्रपति स्वतन्त्र व्यक्ति हुनुपर्छ भन्ने उल्लेख छ, तर उनको पार्टीले आधिकारिक निर्णय नै गरेर रामचन्द्र पौडेललाई भोट हाल्यो । रविको नजरमा रामचन्द्र स्वतन्त्र व्यक्ति भएर होइन फगत सत्ता लिप्साका कारण उनले पार्टीलाइसमेत अडान विहीन, एजेण्डा विहीन बनाए । ‘जान्नेलाई छान्ने’ रविको अर्को लय मिलेको गुलियो नारा हो । तर अहिले उनी जान्ने होइन लण्ठू ठहरिएका छन् ।
के उनलाई नेपालमा निर्वाचनमा उम्मेदवार हुन नेपाली नागरिक नै हुनुपर्छ भन्ने थाहा थिएन ? नक्कली नागरिकता पद खारेज भएपछि प्रकृया पुर्याएर पुनः सक्कली त बनाए, तर राज्यलाई उप-निर्वाचनको व्ययभार बोकाउनु भ्रष्ट्राचार सरह होइन ? ‘जान्नेलाई छान्ने’ भन्ने उनकै भनाईलाई मान्दा पनि उनी लण्ठू ठहरिईसके अयोग्य भइसकेनन् र ?यस्तो कुराको सूचि तयार पार्ने हो भने सयौं पुग्न सक्छ ।
चितवने जनताको रविको स्टन्टवाजप्रति वाकिफ अरू को होला र ? यति हुँदा हुँदै पनि उनी भन्न छाडेका छैनन्, रास्वपालाई एक नम्वर पार्टी बनाउँछु । एक नम्वर पार्टी हुने र प्रधानमन्त्रीको सपना देख्नेले विवादित नागरिकता विधेयक, संक्रमणकालीन न्यायसम्वन्धि विधेयकवारे आफ्नो धारणा राख्नु पर्दैन ? तर अहं यस्ता कुरामा उनी मौन बस्न रुचाउँछन् किनभने पक्षमा बोल्दा जनताबाट टाढिने, विपक्षमा बोल्दा सत्ताबाट टाढिने डर जो उनीमा छ ।
वास्तवमै उनी ‘बसाईँ’ उपन्यासमा वर्णित पात्र ‘रिकुटे’ को नयाँ भर्सन होइनन् भन्न सकिन्न, किनभने चरित्र मिल्दोजुल्दो छ । रिकुटे सहरबाट गाउँ पसेर सहरको झिलिमिलिको लोभ देखाएर युवतीलाई गर्भिणी बनाएर बेपत्ता भएको थियो, रविहरू सहरबाट गाउँ पसेर मतदातालाई अनेक सपनामा लोभ्याएर पनि जित्न नसके बेपत्ता हुँदैनन् भन्न सकिन्न । त्यसबेला उनलाई खोज्न उनीबाट झुक्याइमा परेका चितवने जनता कहाँ जाने ? उनी त जुनसुकै समय अमेरिका भास्सिन पनि सक्छन् । त्यसैले यसपटक चितवनका जनताले न लोभ्भिने न झुक्किने निर्णय गरिसकेको भन्ने बुझिएको छ ।












प्रतिक्रिया दिनुहोस्