जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १५:१८

राष्ट्रिय फुटबल टोलीले मलेसियन क्बलसँग मैत्रीपूर्ण खेल खेल्ने


काठमाडौं, भदौ ६

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०ः०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न तय भएको एन्फाले जनाएको छ । फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ ।

नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे छन् । मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् ।

त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।