जनता टाइम्स

६ भाद्र २०७६, शुक्रबार १६:०५

आत्महत्या दुरुत्साहनको शिकार बन्ने पहिलो होइनन रबि, अदालतमा बिचाराधीण छ १३० थान मुद्दा


काठमाडौं, भदौं ६ । सिधा कुरा जनतासँग टेलिभिजन कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जना पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा यतिबेला प्रहरी हिरासतमा रहेका छन । पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसँगै पत्रकार युवराज कँडेल र र्न अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको छ ।

सञ्चारकर्मी लामिछाने आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेपछि नेपाली समाजमा एक ढंगको बहश पनि भइरहेको छ । तर यसअघि नै १ सय ३० ओटा मुद्दा आत्महत्या दुरुत्साहनमा चलिरहेको छ । २०७५ भदौदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिताअनुसार यो वर्ष नेपालभर नै आत्महत्या दुरुत्साहनका मुद्दा अदालत पुगेका छन । न्युज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध चितवनमा चलिरहेको मुद्दा १३१ औं हो ।

प्रहरी प्रधान कार्यालयले जनताटाइम्सलाई दिएको जानकारीअनुसार जिल्ला अदालत चितवनको हकमा रवि लामिछानेको मुद्दा सातौं हो । रविको जस्तै आत्महत्या दुरुत्साहन कसुरका ६ थान मुद्दा चितवन जिल्ला अदालतमा पहिलैदेखि विचाराधीन रहेको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदुर पश्चिम प्रदेशमा आत्महत्याका लागि दुरुत्साहन कसुर अपराधमा सबैभन्दा बढी मुद्दा दर्ता भएका छन । सो प्रदेशमा हालसम्म ३६ थान आत्महत्या दुरुत्साहनका मुद्दा अघि बढेका हुन । प्रहरीका अनुसार कैलालीमा १३, कञ्चनपुरमा ११, बैतडीमा ४, बाजुरामा २ सहित सुदुरपश्चिम प्रदेशमा ३६ थान मुद्दाको पैरवी जारी रहेको छ । आत्महत्या दुरुत्साहनमा प्रदेश १ अन्तर्गत १८ थान मुद्दा दर्ता भएका छन ।

यस्तै प्रदेश २ अन्तर्गत १२ थान, प्रदेश ३ अन्तर्गत १६ थान मुद्दा दर्ता भएका छन । गण्डकी प्रदेशमा ८ थान मुद्दा विचाराधीन रहेका छन । प्रदेश ५ मा २५ थान र कर्णाली प्रदेशमा ५ थान मुद्दा चलिरहेका हुन । प्रहरीका अनुसार अहिलेसम्म अधिकांश मुद्दामा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरेको छ ।