काठमाडौं, चैत २५ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी देशको प्रमुख शक्तिको रुपमा रहेको प्रष्ट पार्नुभएको छ ।
एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको शनिबार काठमाडौंमा सुरु भएको सातौं राष्ट्रिय सम्मेलनको उदघाटन गर्दै अध्यक्ष ओलीले एमाले मुलुकमा अरु पार्टी भन्दा बढि बलियो, व्यापक र अग्लो रहेको बताउनु भयो ।
एमालेलाई समाप्त पार्न दुनियाँका सबै शक्तिहरु लागे पनि त्यसलाई जोगाएर पार्टीलाई सशक्त बनाउन योगदान दिएको भन्दै ओलीले अखिल नेपाल महिलासंघलाई धन्यवाद दिनुभयो ।
‘दुनियाँ लागेर, घेरेर, छेकेर, चक्रव्यूहमा पारेर पार्टीलाई समाप्त पार्न खोज्दा पनि समाप्त हुन नदिएर, कसैले एमालेविरुद्ध तरबार चलायो भने महिला दिदीबहिनीहरुले ढाल बनेर छेकेका छन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अनमेसंघ र अरु संगठनहरु सक्रिय छन ।’
एमाले अध्यक्ष ओलीले अनेमसंघले आफ्नो संगठनकी पूर्वअध्यक्ष विद्या भण्डारीलाई नेपालको पहिलो महिला राष्ट्रपति बनाएर मुलुककै लागि गर्व गर्न लायक काम गरेको स्मरण पनि गर्नुभयो । कार्यक्रममा अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी नगर्न पनि निर्देशन दिनुभयो । एमालेभित्र अहिले कुनै पनि गुटबन्दी नभएको भन्दै अध्यक्ष ओलीले निहित स्वार्थका लागि गुट बनाउने काम नगर्न सचेत गराउनु भएको हो ।

‘आजको एमालेभित्र कुनै पनि किसिमको गुटबन्दी छैन । त्यहाँ प्रतिपक्ष छैन । सब एकजुट छ । स्वार्थका लागि कसैले यस्तोउस्तो नभन्नुस । हुन्छ नि स्वार्थका लागि यसो ग्रुप बनाए झैं । खेल्न खोजे झैं, त्यस्तो खालको काम नगर्नुहोला,’ ओलीले भन्नुभयो, ‘एक छिन स्वार्थ पूरा भएन भने पनि केही फरक पर्दैन । संगठन एकजुट हुनुपर्दछ । योग्यता, क्षमता, कामलाई हेरेर जिम्मेवारी दिन्छौं । यसमा तलमाथि हुँदैन ।’
अध्यक्ष ओलीले अखिल नेपाल महिला संघले ‘समृद्ध नेपालः सुखी नेपाली’ बनाउने पार्टीको उद्देश्य प्राप्त हुने गरी आफ्नो संगठनलाई चलायमान बनाउनुपर्ने निर्देशन पनि दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्