जनता टाइम्स

७ भाद्र २०७६, शनिबार ०७:१८

भारतमा नेपाली छात्रद्वारा आत्महत्या


नयाँ दिल्ली, भदौ ७ स्नातकोत्तर तहमा अध्ययनरत २६ वर्षीय एक नेपाली विद्यार्थीले तमिलनाडु कृषि विश्वविद्यालय (टीएनएयू)को छात्रबासमा बिहीबार झुन्डिएर आत्महत्या गरेका छन् । सुरेश नेउपाने नामका ती युवक चितवन जिल्लाका भएको बताइएको छ । उनी झ्यालको ग्रीलमा झुन्डिरहेको अवस्थामा बिहान १ः३० बजे भेटिएका थिए । छात्रबासका अधिकारीहरुले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थलमा पुगेर शव बाहिर निकालेको थियो ।

प्रहरीले सबै कोणबाट घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । सम्भावित प्रेम सम्बन्धका बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनी प्लान्ट प्याथोलोजीमा दोस्रो वर्षका विद्यार्थी थिए । उनको शैक्षिक रिपोर्ट निकै राम्रो भएको विश्वविद्यालय स्रोतले जनाएको छ । मृत्युको बारेमा नेपालमा रहेका उनका आमाबाबुलाई खबर गरिसकिएको प्रहरीले जनाएको छ ।