जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १४:०९

इश्वर पोखरेलको खुलासा : सार्वजनिक सम्पत्ति हडप्न खोज्नेहरु नेकपाभित्र पनि छन


काठमाडौं, भदौं ७ । कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेलले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै पनि सार्वजनिक जग्गा हडप्नेहरु रहेको बताउनु भएको छ । नेकपा सचिवालय सदस्यसमेत रहनुभएका कार्यबहाक प्रधानमन्त्री पाखरेलले मुलुकभर नै सार्वजनिक सम्पत्ति हडप्ने प्रवृत्ति देखिएको र त्यो प्रवृत्ति पार्टीभित्रै पनि रहेको बताउनु भएको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा प्रदेश ३ सरकारले निर्माण गरेको पार्कको आज उदघाटन गर्दै पोखरेलले सार्वजनिक सम्पत्तिको सुरक्षा मुख्य चुनौतीको विषय बनेको बताउनु भयो । उहाँले पार्टीभित्र सार्वजनिक जग्गा हड्प्न खोज्ने व्यक्ति रहेको भन्दै अव त्यस्ता प्रबृत्तिबिरुद्ध गम्भीर ढंगले लाग्नुपर्ने आवश्यकता औल्याउनु भयो ।

‘सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? हामीहरुभित्रै समस्या छन् । म तपाईहरुलाई तोकेर भन्न चाहन्न । हामीभित्रै समस्या छन् । सार्वजनिक सम्पत्ति व्यक्तिले लिन पाए, कब्जा गर्न पाए, उपभोग गर्न पाए, मजा मान्ने चिन्तन र प्रवृत्तिहरु छन, यो गलत चिज हो, यसको विरुद्ध जुध्नुपर्छ, सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सबैको कर्तव्य हो,’ कार्यबहाक प्रधानमन्त्री पोखरेलले भन्नुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भुकम्पले क्षतिग्रस्त बनेका सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको भन्दै सहयोग र सहकार्यमा सहभागी हुन नगरबासीलाई आग्रह गर्नुभएको थियो । उहाँले महानगर योजनावद्ध ढंगबाट सम्पदाको पुनर्निर्माण र बिकाशको काममा लागेको जानकारी पनि दिनुभयो ।