जनता टाइम्स

७ भाद्र २०७६, शनिबार १५:२२

रहेनन मोदी नेतृत्वको अघिल्लो सरकारका बित्तमन्त्री अरुण जेटली


नयाँ दिल्ली, भदौं ७ । भारतका पूर्ववित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ। शनिवार दिउँसो एम्स अस्पतालमा उहाँको निधन भएको हो।

श्वास प्रश्वास असजिलो भएपछि गत ९ अगस्तमा जेटलीलाइ एम्स अस्पताल भर्ना गरिएको थियो। अस्पतालले भोलिपल्ट उहाँको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो। जसमा अतिसघना कक्षमा उपचार भइरहेको तर जेटलीको स्वास्थ्य अवस्था नाजुक तर स्थिर रहेको बताइएको थियो। त्यसयता एम्सले कुनै मेडिकल बुलेटिन सार्वजानिक गरेको थिएन। अस्पतालले आज उहाँको निधन भएको घोषणा गरेको हो ।

१७ अगस्टदेखि जेटलीलाइ लाइफ सपोर्ट सिस्टममा राखिएको थियो। गत सोमबार दिउँसो उहाँलाई भेन्टिलेटरबाट पनि हटाइएको थियो। पूर्वमन्त्री जेटलीको उपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकको समूह सहभागी थियो। ६६ वर्षीय जेटलीका श्रीमती संगीता, एक छोरा (रोहण) तथा छोरी सोनाली छन्।

संगीतासँग उहाँको विवाह सन् १९८२मा भएको थियो। उहाँ जम्मु–कश्मीरका पूर्व वित्त मन्त्री गिरधारीलाल डोगराकी छोरी हुनुहुन्छ । बीजेपीका नेता जेटली सन् २०१४ देखि २०१९ सम्म प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो कार्यकालमा वित्त मन्त्री हुनुहुन्थ्यो । उहाँले रक्षा, उद्योग तथा वाणिज्य, कानुन तथा न्याय लगायत महत्वपूर्ण मन्त्रालयमा पनि जिम्मेवारी सम्हाल्नुभएको थियो ।

भारतको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्तासमेत रहनुभएका जेटलीले स्वास्थ्यकै कारण मोदीको दोस्रो कार्यकालमा क्याबिनेटमा नजाने घोषणा गर्नुभएको थियो ।