जनता टाइम्स

८ भाद्र २०७६, आईतवार ०७:२२

एकदशकअघि आफैँले शिलान्यास गरेको पुल ऊर्जामन्त्री पुनद्वारा उद्घाटन


 

काठमाडौं, भदौ, ८ करीब एकदशकअघि आफैँले शिलान्यास गरेको रोल्पा माडीखोला पुलको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शनिवार उद्घाटन गर्नुभएको छ ।

तीन वर्षभित्र निर्माण कार्यसम्पन्न गर्ने गरी विसं २०६५ मा तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री हृदयेश त्रिपाठी र अर्थमन्त्रीको हैसियतले वर्षमान पुनले संयुक्तरुपमा उक्त पुल शिलान्याश गर्नुभएको थियो ।

सरकारले पहिलो निर्माण व्यवसायीले काम गर्न नसकेको भन्दै दोस्रोपटक टेण्डर आह्वान गरी अर्को निर्माण कम्पनीलाई उक्त पुल निर्माणको जिम्मा दिएको थियो । सत्र महीनाभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी एसियाटिक राज जेवि कन्ट्रक्सन रोल्पाले उक्त निर्माण कार्यको जिम्मा पाएको हो ।

अघिल्लो वर्ष असार ३१ गते सम्झौता गरी सोही वर्षको भदौ १ गतेदेखि निर्माण आरम्भ गरेको उक्त पुल ११ महीनामा सम्पन्न भइसकेको छ । उक्त पुल  तीन करोड ३५ लाखको लागतमा निर्माण गरिएको हो ।

अघिल्लो निर्माण व्यवसायीसँग चार करोड बढी लागतमा निर्माणका लागि सम्झौता भएको थियो । निर्माण व्यवसायी वसन्त दशौदीले पटकपटक गरी एक करोड बढी भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालय प्यूठानले जानकारी दिएको छ । उद्घाटन समारोहमा मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्तीमगर, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सांसद दीपेन्द्रकुमार पुनमगर लगायतको उपस्थिति थियो ।

पुल वनेसँगै रोल्पाको पश्चिमी भू–भागमा उत्पादन हुने तरकारी, फलफूल, घीउ, दाल, जडीबुटी, खसीबोका सदरमुकाम लिवाङ ल्याउन सहज हुने भएको छ । पुल नहुँदा सदरमुकाम लिवाङ, सुलिचौरजस्ता बजार क्षेत्रमा खपत हुने अधिकांश तरकारी पश्चिम रोल्पाबाट सल्यान दाङ हुँदै पुनःरोल्पा आउने भएकाले लागत मूल्य पनि अधिक हुने गरेको थियो ।