काठमाडौं, बैशाख २ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले कांग्रेसलाई भ्रष्टीकरणको नेतृत्वकर्ता र रास्वपालाई मयुरको प्वाँख टाँसेको कौवाको संज्ञा दिनुभएको छ ।
काठमाडौंमा आज आयोजित अन्तरक्रियामा बस्नेतले यस्तो बताउनु भएको हो । उहाँले आजको राजनीतिको मूल कार्यभार समाज परिवर्तनको लागि संघर्ष गर्नु भएको पनि बताउनु भयो । युवा संघ समाज परिवर्तनका लागि स्थापना कालदेखि नै निरन्तर क्रियाशील रहेको उहाँको भनाई थियो ।
‘समाज परिवर्तनका लागि लाग्नु नै आजको राजनीतिक आन्दोलनको मूल कार्यभार हो भन्ने कुरा युवाहरुको छनोट हो । त्यसकारणले न्यायप्रेमीहरु युवा संघमा, सामाजिक परिवर्तन युवाहरुको काँधमा भन्ने नाराका रुपमा स्थापना कालदेखि नै युवा संघले आफूलाई उभ्याएको थियो । त्यसमा नै यो आजसम्म पनि अडिएको छ,’ बस्नेतले भन्नुभयो ।
अहिले नेपाली राजनीतिमा दलाल पुँजीवादी शक्ति हाबी भएको उहाँको भनाई छ । दलाल पुँजीवादी शक्तिको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बस्नेतको आरोप छ । साथै, कांग्रेस भ्रष्टीकरणको नेतृत्वकर्ता भएको उहाँको भनाई छ ।
‘आजको समाजमा दलाल पुँजीवादीहरु हाबी भएको छ । आजको समाजमा नवउद्दारवादी शक्तिहरु हाबी भएका छन् । पुँजीवादी शक्तिहरुले राज्यको स्रोतसाधनको दुरूपयोग गरेको छ । नेपाली कांग्रेसले त्यसको लिड गरेको छ । कांग्रेस भ्रष्टीकरणको नेतृत्व गर्ने पार्टी हो भन्ने निश्कर्ष राष्ट्रिय युवा संघ नेपालले निकालेको छ,’ बस्नेतले भन्नुभयो ।
त्यसैगरी, नेकपा माओवादी केन्द्रले भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तनको प्रयास गरेको बस्नेतले बताउनु भयो । संघीयताको गलत व्याख्या र जातीय राज्य माओवादीको अतिवादी चिन्तन भएको उहाँको भनाई छ । माओवादी र केही मधेशवादी दलहरुले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गरेको पनि बस्नेतले बताउनु भयो ।
‘क्रान्तिका भड्किला सपना देखाएर जनयुद्धको माध्यमबाट समाज परिवर्तन गर्ने, नयाँ नेपाल निर्माण गर्ने, क्रान्तिको रुपान्तरण गर्ने, संघीयताको गलत ढंगले व्याख्या गर्दै आत्मनिर्णयका अधिकारसहित राज्य छुट्याउन सकिने, जातीय राज्य निर्माण गर्ने अतिवादी चिन्तन बोकेको माओवादी र केही मधेशवादी दलहरु जसले कम्युनिष्ट पार्टीका नाममा अधिनायकवादी चरित्रको विकास गर्न खोजे । यो प्रवृत्तिका कारण आज समाजवादउन्मुख अर्थतन्त्र विकासको अभियानमा बाधा पुगेको छ भन्ने निष्कर्ष राष्ट्रिय युवा संघ नेपालको हो,’ बस्नेतले भन्नुभयो ।
धर्म र राजतन्त्रको आश्वासन बाँडेर सकिएको सामन्तवादको अवशेष अहिले जुर्मुराईरहेको उहाँको भनाई छ । अहिलेको व्यवस्थाविरोधी शक्ति पनि परिवर्तनको बाधक हो भन्ने युवा संघ नेपालको नवौं महाधिवेशनको निष्कर्ष रहेको बस्नेतले जानकारी दिनुभयो । युवाहरुलाई रचनात्मक क्षेत्रमा र सामाजिक न्यायको क्षेत्रमा जोड्ने कार्यभार राष्ट्रिय युवा संघले पूरा गर्ने बिश्वास पनि उहाँले ब्यक्त गर्नुभयो ।
बस्नेतले प्रधानमन्त्री प्रचण्डको प्रवृत्तिले अधिनायकवादी चरित्र र आपराधिक इतिहास बोकेर अन्तर्राष्ट्रिय शक्तिको चाकडी गरिरहेको गम्भीर आरोपसमेत लगाउनु भयो । माओवादीले सत्ताको आडमा गम्भीर मानवअधिकार उल्लङ्घनका घटनालाईसमेत छाँयामा पार्न खोजेको उहाँको आरोप छ ।
‘अधिनायकवादी चेताव बोकेको, अपराधी इतिहास बोकेको जसले शान्ति प्रकृयाको सारा कार्यक्रमहरुलाई अवरोध गर्दै, वृहत शान्ति सम्झौतालाई १६ वर्षसम्म स्थगन गर्दै आज हत्या, हिंसा र अपराधका कर्महरुलाई गायब गर्दै, गम्भीर मानवअधिकार उल्लङ्घनका कुराहरुलाई छाँया पार्दै र अन्तराष्ट्रिय शक्तिहरुको चाकडी गर्दै अगाडि बढ्न खोजेको प्रचण्ड प्रवृत्ति आजको नेपाली राजनीतिमा गलत प्रवृत्ति हो,’ बस्नेतले भन्नुभयो ।
अहिलेको कांग्रेसमा भ्रष्टाचार प्रवृत्ति मौलाइरहेको बस्नेतको आरोप छ । कांग्रेस कांग्रेसजस्तो भन्दापनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति र भ्रष्टाचारीलाई संरक्षण गर्ने दल बनेको उहाँले बताउनु भयो । कांग्रेसका कारणले गर्दा देश श्रीलङ्काको अवस्थामा पुग्ने बेला आएको बस्नेतको आरोप छ ।
‘नेपाली कांग्रेस, कांग्रेसभन्दा पनि भाउजु प्रवृत्ति, आरजु प्रवृत्ति । जसले भ्रष्टाचारलाई संरक्षण गर्छ । प्रहरी प्रशासनको बढुवामा घुसको अवधारणा बनाउन खोज्छ । घुस खाएर सरुवा/बढुवा गर्छ । ठूलठूला आयोजनाहरु सेटिङमा मिलाउँछ र करोडौं कमिसन बाँड्ने गर्छ,’ बस्नेतले भन्नुभयो ।
कांग्रेसका कारणले नै आज नेपालको उद्योग÷धन्दा चौपट भएको उनको टिप्पणी छ । ती तत्वहरुलाई कमजोर बनाउन आवश्यक रहेको उहाँले बताउनु भयो । उहाँले आफ्नो पार्टी अहिले सत्ताको फोहोरी खेलमा सहभागी नहुनेसमेत स्पष्ट पार्नुभयो । फरक प्रसंगमा बस्नेतले काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आलोचनालाई पनि स्थान दिन आवश्यक रहेको सुझाव दिनुभयो ।
‘बालेनजी नयाँ जोस र जाँगर बोकेर आएको नयाँ पुस्ताको नेतृत्व हो भनेर काठमाडौं महानगरले स्विकारेपछि हामी कसैले पनि हिच्किचाउन पर्ने अवस्था छैन । मेरो बालेनजीप्रतिको टिप्पणी आलोचनालाई पनि तपाईँले स्थान दिनुस् भन्ने हो । कहिलेकाही उहाँले गरेका काममा आएका टिप्पणी र अनुभवी साथीहरुले दिएका सुझावहरुलाई आत्मसात गर्नुस भन्ने मेरो सुझाव हो,’ बस्नेतले भन्नुभयो ।
बस्नेतले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मयुरको प्वाँख टाँसेको कौवा भएको टिप्पणी गर्नुभयो । रास्वपाले नक्कली राष्ट्रवादको खेती गरिरहेको उहाँको निश्कर्ष छ । यही बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनमा रास्वपाका उम्मेदवार रवि लामिछानेले तेस्रो स्थानमा मत पाउने दावीसमेत बस्नेतले बर्नुयो । चितवन–२ मा एमाले र कांग्रेसबीच प्रतिष्पर्धा हुने र अन्ततः एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको जीत निश्चित रहेको बस्नेतले बताउनु भयो ।
‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ । राजनीतिमा जनताले कौवाले जिताए भने फेरि जनतालाई सम्झाउनुपर्छ । चितवनको जनता सचेत छन् । चितवनका जनता त्यति मुर्ख छन्जस्तो मलाई लाग्दैन,’ बस्नेतले भन्नुभयो ।
राष्ट्रिय युवासंघ नेपालका निवर्तमान अध्यक्ष किरण पौडेलले केही राजनीतिक शीक्तहरुले आम नेपाली युवाहरुमा भ्रमको सिर्जना गरिरहेको टिप्पणी गर्नुभयो । युवा संघले राजनीतिप्रति युवाहरुमा रहेको भ्रम चिर्न र बढ्दो निराशा र विकर्षणलाई निराकरण गर्न आवश्यक रहेको भन्दै अहिले आएको नेतृत्वले त्यसप्रति ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
‘आम नेपाली युवाहरुमा भ्रामक मानिसिकता बढ्दै गएको छ । यसको हामीले उजागर गर्नुछ । ती युवाहरुको बढ्दो निराशा र विकर्षणहरुमा हामीले सम्बोधन गर्नुछ । युवा संघमा मात्रै होइन, सिंगो राजनीतिमा विकर्षण आउन थालेको छ । राज्यप्रति युवाको विकृत मानसिकता बढ्दै गयो भने त्यो राज्यले कहिले पनि प्रगति गर्न सक्दैन,’ उहाँले भन्नुभयो ।
राजनीतिक दलका गल्ति/कमजोरीका कारण युवाहरुमा निराशा छाएको उनले बताए । युवाहरुमा रहेको भ्रमलाई निवारण गर्नु युवा संघको अहिलेको मुख्य काम रहेको पौडेलको भनाई छ । देशलाई स्थिरताको बाटोमा अगाडि बढाउनका लागि दलीय व्यवस्थालाई बलियो बनाउन आवश्यक रहेको पनि उहाँले बताउनु भयो । अहिले संघको नवौं महाधिवेशनमा वर्तमान राजनीतिमा भएको सत्ता समीकरण परिवर्तनको बारेमा पनि व्यापक समीक्षा भएको उहाँको भनाई छ ।

‘आम निर्वाचनपछि हाम्रो पार्टीको पहलमा पुष्पकमल दाहालको नेतृत्वको सरकार निर्माण गर्ने काम भयो । एमालेसहितको सरकार लामो समय टिक्न सकेन । युवाहरुमाँझ लामो प्रश्नहरु उठाइए । एमालेले किन प्रचण्डलाई विश्वास गरेर अगाडि बढायो ? जनु सरकार छोटो समय टिक्यो,’– उहाँले भन्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले राष्ट्रियताको पक्षमा अडान लिएबापत तत्कालीन समयबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट घेराबन्दी सुरू भएको उहाँको आरोप छ । आफ्नो पार्टीका अध्यक्षविरुद्धको घेराबन्दीको उक्त शिलशिला आजसम्म पनि जारी रहेको उहाँको भनाई थियो । पछिल्लो निर्वाचनपछि पनि एमालेविरुद्ध अनेकौं हमला र घेराबन्दी भएको उहाँको दाबी छ ।
नेपालको स्वाभिमानलाई कमजोर बनाउने तत्व हाबी भइरहेको अवस्थामा देशको शासन सत्ता यहीँबाट सञ्चालन हुनुपर्छ भनेर एमालेले प्रचण्डसँग सहकार्य गरेर सरकारमा गएको पौडेलले बताउनु भयो ।
‘यो देशको स्वाभिमानलाई कमजोर बनाउने हिसाबले दलहरु लागिरहेको अवस्थामा यो देशको शासन सत्ता र देशको सरकार सञ्चालनलगायतको रिमोट–कन्ट्रोल देशभित्रै राख्ने अथवा देशबाहिर सुम्पने भन्ने मूल विषय थियो । यो देशको शासन सत्ताको बागडोर र नियन्त्रण देशभित्रैबाट हुनुपर्छ भन्ने मान्यताका साथ हाम्रो पार्टीले प्रचण्डजीलाई प्रधानमन्त्रीमा अगाडि बढाएका थियौं । तर, एमाले–माओवादीको सहकार्य सरकारमा लामो समय टिकेन, हामी पनि यो सहकार्य लामो समय जाँदैन भन्नेमा स्पष्ट थियौं,’ उहाँले भन्नुभयो ।
अबको युवाहरुको आन्दोलन विद्रोहको आन्दोलन नभएर रचनात्मक हुन आवश्यक रहेकोसमेत उहाँले बताउनु भयो । अहिले व्यवस्थाविरोधी वकालत हुने गरेको भन्दै यो व्यवस्थाको विकल्प अर्को कुनै व्यवस्था नरहेको युवा संघको नवौं महाधिवेशनको निश्कर्ष रहेको पनि पौडेलले बताउनु भयो ।
युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष क्षितिज थेबेले हालै चयन भएको नेतृत्व वैज्ञानिक र पारदर्शी रहेको र यसले देश र जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले अहिलेको नेतृत्व कुशल र सफल रहेको बताउनु भयो ।
‘पछिल्लो समय नेपाली राजनीतिमा वितृष्णा छाउने, नेताहरुको अगाडि तथा पछाडि हिँड्ने मान्छेमात्रै राजनीतिमा हालिमुहाली हुने, भूगोलमा र संगठनमा काम गरेका मान्छेहरुलाई कहिल्यैपनि न्याय नमिल्ने भनेर आलोचना भएपछि हामीले पहिलो चोटी राष्ट्रिय युवा संघको महाधिवेशनमा ७७वटै जिल्लामा सदस्यता वितरण गर्यौंं,’ उहाँले भन्नुभयो ।
एमालेविरुद्ध विभिन्न राजनीतिक शक्तिहरुले लामो समयदेखि घेराबन्दी गरिरहेको र गत आम निर्वाचन, राष्ट्रपति निर्वाचन र उपराष्ट्रपति निर्वाचनमा अन्य राजनीतिक दलहरुले एमालेविरुद्ध घेराबन्दी र आक्रमण गरेको थेवेले बताउनु भयो । देशमा राष्ट्रियताको पक्षमा एकमात्रै अडान लिने दलको रुपमा एमालेलाई चित्रण गरे ।

उहाँले भन्नुभयो, ‘एकमात्रै दल, राष्ट्रियताको पक्षमा अडान लिएर अगाडि बढेको एमालेलाई पछिल्लो समय नियोजित ढंगले घेराबन्दी गरियो । यसविरुद्ध अब नेपालकै सबैभन्दा ठूलो संगठन, क्रियाशील र उर्जाशील संगठन, नेपालको युवाहरुको नीति र मुद्दा उठान गर्ने राष्ट्रिय युवा संघले घेराबन्दी तोड्न सफल छ, सक्छ । त्यही भएर सर्वसम्मत् ढंगले नेतृत्व चयन भयो । यो नवौं महाधिवेशनको पहिलो सन्देश पनि हो।’
नवौं महाधिवेशनले देशभरका युवाहरुलाई एक बनाउने काम गरेको अध्यक्ष थेबेको भनाई छ । आन्दोलनका क्रममा र सबै क्षेत्रमा आन्दोलनको बाघ बनेर अगाडि बढ्ने एकमात्रै संगठन युवा संघ भएको पनि उहाँले बताउनु भयो । युवा संघ नेपालको प्रतिष्पर्धी संगठन अरु कोही पनि नभएको भन्दै अध्यक्ष थेवेले अहिले युवा संघ युवाहरुको मुद्दामा एक्लै निरन्तर लागिरहेको स्पष्ट पार्नुभयो ।
‘हाम्रा प्रतिष्पर्धी मित्र संगठनले हामीलाई चुनौति दिन खोजेको भए हाम्रो स्पिड अझै बढ्थ्योजस्तो लाग्छ । तर, कस्तो भयो भने एउटा रेसिङ बाईक कुदिराखेको छ तर पछाडि साइकल चलाउने बच्चाले कुदाएको स्पिडको कम्पिटिसन जस्तो भयो । आफूमात्रै एक्लै रेसमा हुँदा धेरै अगाडि बढेजस्तो लाग्छ तर केही छैन, हामी युवाहरुको विषयमा हामी एकदमै संवेदनशील छौं,’ उहाँले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्