जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार ०९:१८

गुल्मीमा आगो निभाउने क्रममा एक बालकको ज्यान गयो


गुल्मी, बैशाख ८  । गुल्मीमा आगो निभाउने क्रममा एक जना बालकको ज्यान गएको छ । आगोमा जलेर घाइते भएका धुर्कोट गाउँपालिका–३ हाडहाडेका १३ वर्षीय दीपक मुखियाको उपचारका क्रममा आज बिहान मिसन अस्पताल पाल्पामा ज्यान गएको हो ।

बर्दवास जङ्गलमा लागेको आगो बस्तीमा आउन थालेपछि परिवारसहित आगो निभाउन गएका मुखियालाई आगोको लप्काले पोलेको थियो । आगो निभाउने क्रममा हाडहाडेकै ५५ वर्षका धनबहादुर कुँवर घाइते हुनुभएको छ । उहाँलाई पाल्पामा उपचार हुन नसकेपछि आज बिहान थप उपचारका लागि बुटवल रेफर गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्मीका सशस्त्र प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभएको छ ।

यसैबीच गुल्मीको ईस्मा गाउँपालिकामा हिजो भएको आगलागीमा दुई वटा घर र तीन वटा गोठ पूर्णरुपमा नष्ट भएका छन् । स्थानीय सामुदायिक वनबाट लागेको आगो एक्कासी गाउँ पसेपछि घररगोठसहित अन्न र लत्ता कपडा जलेर नष्ट भएको स्थानीय बोमबहादुर कुमालले जानकारी दिनुभएको छ ।

दुई हप्तादेखि गुल्मीका सामुदायिक वन एवम् राष्ट्रिय वनमा डढेलो र आगलागीका घटना बढेका छन् ।