जनता टाइम्स

९ बैशाख २०८०, शनिबार १८:०७

एमालेमा समाहित भएपछि मुकुन्द न्यौपानेको ठोकुवा : अव पनि नेकपा एस भन्ने पार्टीमा बस्नु आत्महत्या गर्नु हो, सवै साथीहरु एमालेमै फर्कन्छन


काठमाडौं, बैशाख ९ । नेकपा एकीकृत समाजवादी त्यागेर नेकपा एमाले प्रवेश गर्नुभएका बरिष्ठ नेता मुकुन्द न्यौपानेले अव पनि माधव नेपालको भ्रममा परेर त्यो पार्टीमा रहनु भनेको आफ्नै राजनीतिक जीवनको आत्महत्या हुने ठोकुवा गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा एमालेमा समाहित भएपछि बरिष्ठ नेता न्यौपानेले यस्तो बताउनु भएको हो । ‘नेकपा एकीकृत समाजवादी भन्ने पार्टीमा अव पनि कोही बसिरहनु हुन्छ भने त्यो आत्महत्या हो । अव त्यो पार्टीमा बसेर कसैले पनि आत्महत्या गर्नुहुन्न,’ न्यौपानेले भन्नुभयो ।

उहाँले पार्टीभित्र भित्र्याइएका दुर्याधनसँगको संगत र मनको कुरा मात्रै सुन्दा आफू त्यो पार्टीमा पुगेको बताउनु भयो । ‘खराव मान्छेको संगत र मनबाट मात्रै चल्दा गलत निर्णय हुँदो रहेछ, मबाट पनि त्यही भयो,’ न्यौपानेले भन्नुभयो ।

उहाँले नेकपा एकीकृत समाजवादी समाजवादीमा रहेका नेताहरु आफै पार्टी चल्दैन भन्ने निश्कर्षमा पुगिसकेको र कुनै पनि बेला बिघटन हुने भन्दै सवैलाई एमालेमै समाहित हुन आह्वान पनि गर्नुभयो । ‘त्यो समाजवादी भन्ने पार्टीमा रहेका ८० प्रतिशत साथीहरु त्यो पार्टीमा नरहने निश्कर्षमा हुनुहुन्छ । उहाँहरु समाजवादीमा त बस्दै नबस्ने, एमालेमा चाँहि अहिले गइनहाल्ने भन्ने भनाई छ,’ न्यौपानेले भन्नुभयो ।

उहाँले माधव नेपालले कम्युनिष्ट आन्दोलन सकाउने कसैको भारी बोकेर मात्रै त्यो पार्टी खोलेको प्रमाणित भइसकेको पनि बताउनु भयो । ‘समाजवादी पार्टी भन्नेले गरिखाँदैन, चल्दैन पनि,’ न्यौपानेले भन्नुभयो । उहाँले यो गठबन्धन होइन, ठगबन्धन हो भनेर बैठकमै लिखित फरक मत राखेको भन्दै न्यौपानेले समाजवादी पार्टी त चल्दै चल्दैन भन्नेमा सवै नेता कार्यकर्ता रहेको बताउनु भयो ।

नेकपा एकीकृत समाजवादीमा केपी ओलीलाई गाली गर्नेबाहेक अरु कुनै एजेण्डा नै नरहेको बताउनु भयो । एमाले अध्यक्ष केपी ओलीले थाह पाउँछन भनेर माधव नेपाल सधै त्रसित हुने गरेको र सत्य कुरा बोल्नै नपाइने अवस्था नेकपा एसमा रहेको न्यौपानेले बताउनु भयो ।

उहाँले सूर्यबिना कलम चल्दै नचल्ने पनि बताउनु भयो । ‘सूर्य अस्ताएपछि कलमको काम नै छैन, अनि कलमले सूर्यसँग प्रतिस्पर्धा गर्न सक्छ ? कलमको काम सूर्य हुँदासम्म मात्रै हो,’ न्यौपानले भन्नुभयो ।