जनता टाइम्स

१३ बैशाख २०८०, बुधबार ०६:३९

फ्लाई दुबईको समस्या अस्पष्ट


काठमाडौँ, १३ वैशाख । विमानस्थलबाट उडान भर्नेबित्तिकै ठूलो आवाजसहित आगोको मुस्लो देखिएको फ्लाई दुबई प्रकरण थप कौतूहलको विषय बनेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानका चालकको हवाला दिएर गरिएको विमानस्थलमा चरा ठोक्किएको दाबी सत्य नभएको बरु प्राविधिक समस्या रहेको बताउनुभएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि जहाजमा चरा ठोक्किएको पुष्टि गर्न फ्लाई दुबईलाई चुनौती दिएको छ ।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स ९दुबई०का लागि उडान भरेको फ्लाई दुबईको जहाजमा चरा ठोक्किएर विस्फोट भएको दाबी फ्लाई दुबईको थियो । प्राधिकरणले भने फ्लाई दुबईले आफ्नो जहाजमा आएको प्राविधिक त्रुटिलाई ढाकछोप गरी अन्तर्राष्ट्रिय समुदायमा नेपाली विमानस्थल सुरक्षित नभएको भ्रम छर्न खोजेको जनाएको छ ।

प्राधिकरणले पनि जहाजको यस घटनामा ठ्याक्कै यही भएको हो भन्ने जानकारी दिएको छैन । फ्लाई दुबईले पनि उक्त जहाजलाई उडानमा रोक लगाए पनि जहाजमा चरा ठोक्किएको प्रमाण सार्वजनिक नगरेपछि यस प्रकरणले थप कौतूहल बनाएको छ । दुबईको गभर्मेन्ट अफ फ्लाई दुबई मिडिया अफिसले उडिरहेको जहाज अवतरण नहुँदै सामाजिक सञ्जालमार्फत जहाजमा चरा ठोक्किएर विस्फोट भएको दाबी गरेपछि प्राधिकरणले अनावश्यक भ्रम फैलाएको भन्दै नेपालमा रहेका फ्लाई दुबईका स्टेसन म्यानेजर नरनारायण पकवान र कन्ट्री म्यानेजर विनोद अग्रवाललाई विमानस्थल प्रवेशमा रोक लगाएको छ ।

प्राधिकरणले जहाजमा चरा ठोक्किएको हो वा प्राविधिक समस्याका कारण जहाजको बायाँ इन्जिनमा आगोको मुस्लो देखिएको भन्नेबारे अध्ययन गर्न एक जना चालक र अर्को हवाई सुरक्षा विभागका अधिकारी रहेको दुई सदस्यीय छानबिन टोली गठन गरेको छ ।

त्यस्तै नेपालमा दर्ता भएको जहाज दुबईमा हुँदा त्यहाँको नागरिक उड्डयन प्राधिकरणले तय गरेको नियमअनुसार रहनुपर्ने र त्यहाँको जहाज नेपालमा हुँदा यहाँको नागरिक उड्डयन प्राधिकरणको नियमअनुसार चल्नुपर्ने जनाउँदै फ्लाई दुबईले प्राधिकरणसँग कुनै समन्वय नै नगरी भ्रम फैलाउने प्रपञ्च गरेको भन्दै सिभिल एभिएसन अथोरिटी दुबईलाई पनि छानबिनका लागि पत्र पठाएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भूलका अनुसार के कारणले जहाजको इन्जिन पड्किएको हो, के कारणले आगोको मुस्लो देखिएको हो भन्नेबारे फ्लाई दुबई दर्ता भएकै मुलुक दुबईमा छानबिन हुने बताउनुभयो।

उहाँले भन्नुभयो, “विमानस्थलको रनवे २–० बाट उडान भर्ने बित्तिकै जहाजको बायाँ इन्जिनमा समस्या आएको पाइलटले एटीसीलाई जानकारी गराए। जहाजलाई धादिङको धार्केमाथिको ‘होल्डिङ सेन्टरमा करिब सात मिनेट फन्को लगाएर पाइलटले गरेको इन्जिनको सबै इलिमेन्टको जाँचका क्रममा सबै सूचकले काम गरेको भन्दै उडानलाई निरन्तरता दिएका थिए। पाइलटले बर्ड हिट वा बर्ड स्ट्राइक भएको टावरलाई रिपोर्ट गरेका छैनन्।”

अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०को नियमअनुसार उडानका क्रममा जहाजमा समस्या आएपछि जहाज अवतरण गर्ने वा उडानलाई निरन्तरता दिने भन्नेबारे सम्पूर्ण अधिकार सम्बन्धित वायुयानका मुख्य चालकलाई हुने भएकाले ग्राउन्डबाट यस्तो गर्नै पर्छ भन्ने दबाब वा निर्देशन दिन नमिल्ने उहाँको भनाइ छ। मुख्य चालकले निर्णय लिन नसकेको अवस्थामा मात्रै ग्राउन्डबाट सुझाव दिन सकिने तर जहाज अवतरण भइसकेको अवस्थामा भने नियम लाग्ने बताउनुभयो।

उहाँले भन्नुभयो, “कुनै पनि जहाजमा प्राविधिक समस्या देखिएपछि स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडरअनुसार चालक दलले चेकलिस्ट फलो गर्छन्। त्यसपछि एसओपी हुन्छ। जोखिमको प्यारामिटर तथा चेकलिस्ट जाँच गरेपछि मात्रै पाइलटले उडान गर्ने वा नजिकैको विमानस्थलमा अवतरणको अनुमतिमा जाने भन्नेबारे निर्णय लिन्छन्।”

फ्लाई दुबईको प्रकरणमा जहाजमा चरा ठोक्किएको भ्रमबारे विमानस्थलको धावनमार्ग र त्यसको आसपासमा चराको कुनै अवशेष फेला नपरेको र जहाजको कुनै पनि भागमा क्षति पुगेको विवरण हवाई कम्पनीले दिन नसकेकाले जहाजकै आन्तरिक प्राविधिक समस्या हुन सक्नेबारे छानबिन समितिले तथ्य खोज्ने उहाँले बताउनुभयो। गोरखापत्रबाट