जनता टाइम्स

८ भाद्र २०७६, आईतवार १९:५५

रवि लामिछानेका समर्थकबाट प्रहरीमाथि आक्रमण, डिएसपीसहित सात प्रहरी घाइते


चितवन, भदौं ८ । पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने समर्थकको आक्रमणबाट डिएसपीसहित सात प्रहरी घाइते भएका छन् । रवि लामिछानेको पक्षमा प्रदर्शन गरिरहेका समुहले प्रहरीमाथि एक्कासी ढुंगामुढा गर्दा सात प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार ड्युटीमा खटिएका प्रहरीमाथि आन्दोलनकारीले एक्कासी ढुंगा प्रहार गरेका थिए । सोही क्रममा डिएसपीसहित सात प्रहरी घाइते भएका हुन । प्रहरीले केही बल प्रयोग गरी स्थितिलाई नियन्त्रणमा लिएको थियो ।

लामिछानेसहित पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीबिरुद्ध आजै जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आत्महत्या दुरुत्साहन मुद्दामा जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको छ । अभियोगपत्र दर्तापछि अभियुक्तहरुसँग अदालतमा बयान लिने काम भइरहेको छ । आज कार्कीको बयान सकिएको छ भने लामिछाने र कँडेलसँग भोलि बयान लिइने छ ।

अदालतमा बयान जारी रहेकोले प्रहरी हिरासतमै पठाइएपछि रविका समर्थकले प्रहरीमाथि ढुंगामुढा गरेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको थियो ।