जनता टाइम्स

८ भाद्र २०७६, आईतवार २०:२०

प्रचण्डले बोलाए नेकपाको सचिवालय बैठक, यस्तो छ एकता टुंग्याउने एजेण्डा


काठमाडौं, भदौं ८ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको बाँकी काम सकाउन सचिवालय बैठक बोलाउनु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपचारको क्रममा सिंगापुरमा रहनुभएको बेला सचिवालयको निर्णयअनुसार अध्यक्ष प्रचण्डले भोलि दिउसो सचिवालय बैठक बोलाउनु भएको हो ।

अध्यक्ष ओलीले आफू उपचारमा सिंगापुर रहेको बेला अध्यक्ष प्रचण्डले बैठक बोलाएर एकतको बाँकी कामलाई टुंग्याउन अघिल्लो सचिवालय बैठकमा प्रस्ताव गर्नुभएको थियो । नेकपाले पार्टी एकताको अधिकांश काम टुंगो लगाए पनि केन्द्रीय आयोग, बिभागका सदस्यहरु, महानगर कमिटी र प्रवास कमिटीको टुंगो लाग्न बाँकी छ । भोलिको बैठकमा ६ ओटै महानगरको अध्यक्ष र सचिव, प्रवास कमिटी र बाँकी केन्द्रीय सदस्यहरूको कार्यबिभाजनको एजेण्डा रहेको छ । अध्यक्ष प्रचण्डले भोलि दिउसो १ बजे पार्टी कार्यालय धुम्बाराही बैठक बोलाउनु भएको उहाँका प्रेस संयोजक बिष्णु सापकोटाले जानकारी दिनुभयो ।

गत बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको अनुपस्थितिमा अध्यक्ष प्रचण्डले पार्टी बैठक चलाउन सक्ने र एकताको बाँकी काम पूरा गर्ने निर्णय गरेपछि प्रचण्डले बैठक बोलाउनु भएको हो । बैठक बस्नुअघि अध्यक्ष प्रचण्डले असन्तुष्ट नेता माधवकुमार नेपालसहित सचिवालयका नेताहरुसँग छुट्टाछुट्टै परामर्श गर्नुभएको छ ।

नेकपामा पार्टी एकता भएपछि एउटा अध्यक्ष मात्रै मुलुकमा रहेको बेला सचिवालय बैठक बस्न लागेको पहिलो पटक हो । बैठकमा सवैको सहमतिका आधारमा निर्णय लिने गरी अध्यक्ष प्रचण्डले गृहकार्य गर्नुभएको छ । यसअघि पार्टी सचिवालयको बैठक दुवै अध्यक्षहरूको उपस्थितिमा हुँदै आएको थियो ।