जनता टाइम्स

१६ बैशाख २०८०, शनिबार ०७:३२

रवि लामिछानेको दोहोरो चरित्र सदनमा पोखियो


काठमाडौं, १६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रवि लामिछानेले आफू गृहमन्त्री छँदा एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा दिएको अभिव्यक्तिसँग बाझिने कुरा बताउनुभएको छ । गृहमन्त्री छँदा फरार सांसद कोइरी कहाँ छन् भन्ने सम्बन्धमा कुनै जानकारी नभएको बताएका उहाँले सांसदका रूपमा प्रतिनिधिसभाको शुक्रबारको बैठकमा भने यसबारे आफूलाई गृहमन्त्री छँदा नै थाहा भएको दावी गर्नुभयो ।

बैठकमा उहाँले भन्नुभयो , ‘यो मेरा लागि पेचिलो विषय हो। यसै विषयलाई लिएर मैले आलोचना खेपेको छु। उहाँ (लक्ष्मी कोइरी) बिरामी हैन, फरार अभियुक्त हो। फरार रहँदा उहाँलाई उहाँकै सालाले भगाएको र त्यहाँ (भारत) को प्रहरीले नियन्त्रणमा लिएको तस्बिर मसँग छ।’ तर लामिछानेले माघ ५ गते गृहमन्त्रीका रूपमा प्रतिनिधिसभा बैठकमा भन्नुभएको थियो , ‘म यहाँहरूलाई के जानकारी गराउन चाहन्छु भने, विधि र पद्धतिभन्दा बाहिर गएर गृह मन्त्रालय एक कदम, एक इन्च पनि बाहिर निस्किँदैन।

म यहाँहरूलाई र यो सम्मानित संसद्लाई यसको ग्यारेन्टी दिन चाहन्छु। त्यसको एउटा प्रक्रिया छ, त्यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नु हुने छैन भन्ने कुराको जानकारी यसअगाडि पनि सम्मानित संसद्मा गराइसकेको छु।’ लामिछानेले शुक्रबार भने कोइरीका विषयमा आफूलाई पहिला नै जानकारी रहेको दाबी गर्नुभयो । उहाँले आफू गृहमन्त्री रहेका बेला अभियुक्तका रूपमा कोइरीको खोजी गर्दा उनी बिरामी नभई फरार अवस्थामै भारत पुगेको बताउनुभयो । उहााउनले भने, ‘उहाँ बिरामी हैन, फरार अभियुक्त हो। उहाँ भाग्नुभएको अभियुक्त हो।’ उनले भारतबाट कोइरीको साला पर्नेले आफूलाई मोबाइलमा तस्बिर समेत पठाएको बताए। ‘मसँग उहाँ भागेर जानुभएको ठाउँ, त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको तस्बिरसहित छ,’ उनले भने, ‘सम्बन्धित ठाउँमा म तस्बिर उपलब्ध गराउन सक्छु। मैले यसलाई सार्वजनिक गर्न मिल्दैन।’

संसद् बैठकमै लामिछानेले फरार अभियुक्तलाई बिरामी भनेर लोकतन्त्रको भद्दा मजाक नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘यो हास्यास्पद शृंखला बन्द गर्नुपर्छ। अब नयाँ पुस्ता पनि राजनीतिमा आएको छ। यसकारण राजनीतिका नाममा लाजनीति कमसेकम यो संसद्मा नचलोस्।’ लामिछानेले अहिले दिएको अभिव्यक्तिसँग गृहमन्त्री छँदाको अभिव्यक्ति बाझिएको देखिन्छ। लामिछाने गृहमन्त्री भएकै बेला फरार सांसद कोइरी पटकपटक संसद् बैठकमा उपस्थित हुनुभएको थियो । उहाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पुस २६ गते विश्वासको मतसमेत दिनुभएको थियो ।

लामिछाने गृहमन्त्री भएका बेला कोइरीलाई पक्राउ नगरेको विषयमा चर्को आलोचना भएको थियो। उक्त आलोचना पन्छाउन उहाँले ‘कोइरी फरार रहेको, प्रहरीले खोजी गरिरहेको’ भन्ने प्रतिक्रिया दिनुभएको थियो । यस्तै सञ्चारकर्मीले गरेको एक सवाल–जवाफमा उहाँले ‘कोइरी कहाँ छन् ? भन्ने थाहा नभएकैले पक्राउ नपरेको’ भन्दै ‘थाहा भए सूचना दिनुस्, तत्कालै पक्राउ गर्छौं’ भन्नुभएको थियो । माघ ५ गते सभामुखको निर्वाचन हुँदा पनि फरार भनिएका कोइरी प्रतिनिधिसभाको बैठकमा उपस्थित हुनुभएको थियो। त्यहीं बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नियमापत्ति जनाउँदै तत्कालीन गृहमन्त्री लामिछानेमाथि कटाक्ष गर्नुभएको थियो । त्यसपछि लामिछाने झन् आलोचना भयो। आलोचनाको प्रतिरक्षास्वरूप गृह मन्त्रालयले माघ ६ गते एक विज्ञप्ति जारी गर्‍यो। जसमा गृहमन्त्री लामिछानेले पटकपटक कोइरीलाई पक्राउ गर्न दिएको निर्देशन प्रहरीले कार्यान्वयन नगरेको भन्ने आशय थियो।