जनता टाइम्स

१६ बैशाख २०८०, शनिबार ०७:४०

सुजल र आरुषीलाई स्वर्ण


काठमाडौं, १६ वैशाख । लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा शुक्रबार स्वर्ण जित्नुभएको छ ।

सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जित्नुभएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११।४ सेकेन्डमा पूरा गर्नुभयो ।

मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली प्रदेशका सुशिल वलीले कांस्य जित्नुभयो । आरुषीले निर्धारित दूरी तय गर्न १३।७ सेकेन्ड समय लगाउनुभयो
बागमतीका दिना गोपालीले रजत तथा स्वागता खाइजुले कांस्य हात पार्नुभयो । छात्र १५ सय मिटर दौड चार मिनेट २२।८ सेकेन्डमा सकाउदै लुम्बिनीका विकास विकले शीर्ष स्थान हात पार्नुभयो ।

गण्डकीका बादल कार्की दोश्रो तथा सुदूरपश्चिम प्रदेशका अमित आउजी तेश्रो हुनुभयो । उक्त स्पर्धाको छात्रामा गण्डकीकी नारायणी भण्डारीले पाँच मिनेट १५।४ सेकेन्डमा दौड पूरा गर्दै पहिलो हुनुभयो । लुम्बिनीकी मोतीकला डाँगी दोश्रो तथा कोशी प्रदेशकी निला जिमी तेश्रो हुनुभयो ।

यसैगरी छात्र हाइजम्पमा बागमतीका नवीन खत्री पहिलो हुनुभयो । उहाँले १।६८ मिटर उचाईं ना३नुभयो । गण्डकीका मनीष जिसी तथा कोशीका सागर यादव संयुक्त रुपमा दोश्रो स्थानमा हुनुभयो ।
सोही स्पर्धाको छात्रामा १।४५ मिटर उचाईं नाघेकी गण्डकीकी सिमा श्रेष्ठले स्वर्ण चुम्नुभयो । लुम्बिनीकी प्रमिला चौधरीले रजत तथा सुदूरपश्चिमकी सुस्मिता चौधरीले कांस्य जित्नुभयो ।

तीनदिने प्रतियोगितामा सात प्रदेशका एक सय ५४ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।