जनता टाइम्स

१७ बैशाख २०८०, आईतवार ०९:१६

महावीर पुन दोस्रो रात पनि माइतीघर मण्डलाको सडकमा सुते


काठमाडौं, १७ बैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन दोस्रो रातमा पनि माइतिघर मण्डला सुत्नुभएको छ ।

शुक्रवार देखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामवाट आन्दोलनमा उत्रनुभएका पुनले आइतरवार रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गर्नुभएको हो ।

शनिवार दिउसो देखि नै मुसलधारे पानी परे पनि पुनको टोली भने कठयाङिद्रो चिसोमा त्रिपालमुनी बसेको थियो । उनले त्यसको भिडियो पनि सार्बजनिक गर्नुभएको छ । ‘धर्ना जारी छ र हुनेछ, आज राती पनि यतै सुत्ने हो’ शनिवार साँझ नै उहाँले जानकारी दिदै भन्नुभएको थियो।

शनिवार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवि मिश्रलगायत उनको आन्दोलनमा ऐक्यबद्ता जनाउन माइतीघर मण्डलामा पुगेका थिए ।

शुक्रवारको रात पनि माइतीघर मण्डलाको सडकमा नै सुतेर कटाए थिए । ुलु, हामी चाहीँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइरहनु होस्,’ पुनले शनिबार बिहान जानकारी दिदैँ भनेका थिए, ‘के त होला र रु केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि ।’

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उनी आन्दोलनमा उत्रेका हुन ।

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिएका हुन ।

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उनले भनेका थिए, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’