जनता टाइम्स

९ भाद्र २०७६, सोमबार ०९:२५

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरण : जेल जालान कि छुटलान रवि लामिछाने ?


चितवन, भदौं ९ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकारयुवराज कँडेलसँग आज बयान लिने भएको छ। चितवन जिल्ला अदालतका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार आज न्यायाधीश हेमन्त रावलको इजलासमा रवि र युवराजसँग बयान लिइनेछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले अभियोगपत्र दर्ता गरेलगत्तै हिजो नै आरोपीसँग बयान लिन सुरु भएको हो। सुरुमा अस्मिता काकीृको बयान लिइएको छ। ‘आइतबार अस्मितासँग बयान लिइएको छ, रवि लामिछाने र युवराज कँडेलको बयान समय अभावले आज हुनेछ, गिरीले भन्नुभयो । रवी र युवराजसँग बयान सकिएपछि थुनछेक बहस हुनेछ।

बयानका क्रममा अस्मिताले पुडासैनीको आत्महत्यामा आफ्नो संलग्नता नरहेको जिकिर गरेकी छन् । उनले आफूमाथि लागेको आरोपबाट सफाइ पाउनुपर्ने बताएकी छन् । अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आइतबार लामिछाने, कँडेल र अस्मिताविरुद्ध चितवन जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो। प्रहरीले १० दिनको म्यादमा हिरासतमा राखेर अनुसन्धान पूरा गरेपछि आइतबार अदालतमा मुद्दा दर्ता भएको हो। बयान नसकिएपछि पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनै जनालाई प्रहरी हिरासतमा पठाइएको थियो ।

आजको थुनछेक बहसपछि मात्र उनीहरु धरौटिीमा छुट्ने या पुर्पक्षका लागि थुनामा जाने अथवा साधारण तारेखमा छुट्ने भन्ने निर्णय हुनेछ । यसअघि प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान सम्पन्न गरी जिल्ला सरकारी वकिल कार्यालय चितवनमा राय पेश गरेको थियो । सरकारी वकिलको कार्यालयले प्रहरीबाट प्राप्त प्रमाणको आधारमा आत्महत्या दुरुत्साहनमा मुद्दा चल्ने ठहर गरी अभियोगपत्र अदालतमा दर्ता गरेको हो । अभियोगपत्रमा संचारकर्मी रवि लामिछानेसहित तीन जनालाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा ५ वर्ष कैद र ५० हजार जरिवाना माग दावी गरिएको छ ।

पत्रकार पुडासैनीले गत २० साउनमा चितवनको भरतपुर महानगरपालिका १ स्थित कंगारु होटलमा आत्महत्या गर्नु अघि बनाएको भिडियोमा लामिछानेसहित तीन जनाले आत्महत्या गर्न बाध्य पारेको बताएका थिए । सोही भिडियोका आधारमा प्रहरीले लामिछाने, कँडेल र कार्कीलाई पक्राउ गरेको हो । प्रहरीले अनुसन्धान सकेर हिजो सरकारी वकिल कार्यालयमा रायसहितको फाइल बुझाएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रवक्ता प्रकाश थापाले फाइल अध्ययन गरेर जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको बताउनु भयो । ‘हामीले अभियोगपत्र जिल्ला अदालतमा पेश गरेका छौं,’ उहाँले भन्नुभयो, ‘अभियोगपत्रमा मुलुकी अपराध संहित २०७४ को १८५ बमोजिम ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गरेका छौं ।’