काठमाडौं, १८ वैशाख । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताउनुभएको छ । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गर्नुभयो ।
थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सिमित दलका सिमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको बिरोध गर्ने , सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उहाँको तर्क थियो । माओवादी शान्ती प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौ बाढ्ने बिषय आपत्तिजनक भएको स्पष्ट पार्नुभयो । ब्यक्ती परिबर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनितीक मार्गचित्र परिबर्तन हुनुपर्नेमा थापाको जोड थियो ।
नेपालमा धर्म परिवर्तनको डढेलोले आफूलाई पहिचानवादी भन्नेहरुको नै पहिचान समाप्त हुन लागेको भन्दै थापाले हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरुको संख्या अघिल्लो जनगणनामा भन्दा ज्यादै न्यून भएकै कारण सरकारले धर्मको आधारमा जनगणनाको रिपोर्ट सार्वजनिक नगरी लुकाएको आरोप लगाउनुभयो । संगठित रुपमा विभिन्न प्रलोभन देखाएर विशेषतः आदिवासी जनजाती एवं दलित वर्गलाई असंख्य परिमाणमा धर्म परिवर्तन गराइएको ले यो समुहको पहिचान नै संकटमा पर्नसक्ने संभावना टड्कारो देखिएकोले आफ्नो धार्मिक पहिचान जोगाउन सबैले समयमै सचेत हुनुपर्नेमा थापाले जोड दिनुभएको थियो ।
नेपालमा श्रम गरेर गुजारा गर्ने मजदुरहरुको अवस्था अत्यन्तै कष्टप्रद रहेको उल्लेख गर्दै अध्यक्ष थापाले राजनीतिक परिवर्तनमा श्रमिकहरुको उल्लेख्य योगदान रहेपनि औद्योगिकरण र आर्थिक रुपान्तरण नभएका कारण श्रमिकहरु लाभान्वित हुन नसकेको बताउनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा, पेन्सन आदिजस्ता श्रमिकका पक्षमा कदम चालिएपनि व्यवहारमा लागू हुन नसकेकोले श्रमिकको हकहितको लागि लड्ने ट्रेड युनियनहरुलाई यसतर्फ चनाखो हुन थापाले आग्रह गर्नुभयो । ट्रेड युनियन महासंघ नेपाल (टुकोन) लाई शुभकामना दिंदै अध्यक्ष थापाले सम्पूर्ण श्रमिकहरुलाई संगठित गर्दै मजदुरको प्रतिनिधीमूलक संगठन बन्नेतर्फ अग्रसर भएकोमा टुकोनलाई धन्यवाद दिनुभएको थियो ।
टुकोनमा अध्यक्ष हिक्मत जंग भण्डारीको अध्यक्षतामा सञ्चालित सो कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा नेपालका महामन्त्री राजाराम वर्तौलाले संगठित वा असंगठित क्षेत्रका श्रमिकहरुको वास्तविक पहिचान गरि उनीहरुका हक र हितको बारेमा आवाज बुलन्द पार्न टुकोनको प्रयास सार्थक रहेको बताउँदै संगठनलाई तल्लो तहसम्म विस्तार गरेर ‘टुकोन’ अग्रणी ट्रेड युनियन महासंघ बन्नेमा आफू आशावादी रहेको बताउनुभयो ।
सो कार्यक्रममा ट्रेड युनियन महासंघ नेपाल ९टुकोन०का वरिष्ठ उपाध्यक्ष राजेन्द्र लाखा, सह(महामन्त्री जीपी दाहाल, सचिब सन्ध्या वासुकला, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालका अध्यक्ष सुनिता कुरुम्वाङ लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्