जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १३:१६

सालिकराम आत्महत्या प्रकरणमा रवि लामिछानेले अदालतमा दिए यस्तो बयान (बयानसहित)


चितवन, भदौ ९ । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीन जनाको चितवन जिल्ला अदालतमा बयान लिने काम सकिएको छ । अस्मिता भनिने रुकु कार्कीको हिजो नै बयान सकिएको थियो भने बाँकी दुई जनाको बयान आज सकिएको हो ।

बयान लगत्तै दुबै पक्षका कानुन व्यवसायीबाट बहस सुरु भएको छ । बहस सकिएपछि अदालतले थुनामा राख्ने, धरौटी माग गर्ने वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्छ । बयानका क्रममा सञ्चारकर्मी लामिछाने आफूले शालिकरामकी प्रेमिका भनिएकी अस्मतालाई नचिनेको बताएका छन् । बयानमा भनेका छन, ‘रुकु भन्ने अस्मितालाई मैले चितवनको थुनुवा कक्षमा मात्रै चिनेँ ।’ रविले आत्महत्याको दुईरतीन दिनअघि अस्मिता न्युज २४ को कार्यलयमा आएको र क्यामेरामेन अनिल ढुंगेललाई भेटेर आफ्नो समस्या राखेको भन्ने कुरा आफूले सुनेको बताएका छन् ।

यस्तो छ रविले प्रहरीलाई दिएको वयान–

कार्यक्रम निर्माता दिपक बोहोराको सिफारिसमा शालिकरामलाई न्युज २४ को रिपोर्टरको रुपमा काममा राखेका थियौं। निजले पाउने सुविधाकोबारेमा मलाई केही थाह थिएन। निज काममा निकै मेहनत गरी खटिने र राम्रो राम्रो सुचनाहरु ल्याउने गर्थे।

करिब दुई महिना पहिले निजले (शालिकले) मैले माउन्टेन टिभीमा एक लाख रुपैयाँ तलब पाउने गरी मार्केटिङको काम पाए। अब न्युज २४ छोडेँ भनेका थिए। पछि निजले उक्त टिभीमा मिसन न्युज भन्ने कार्यक्रम चलाउँछन् भन्ने थाह पाउँदा निजले किन ढाँटे होला भन्ने लागेको थियो। घटनाको दुई तीन दिन पहिले हाम्रो क्यामेरामेन अनिल ढुंगेलले हामी सबै कर्मचारीहरु सँगै भएको बेला निज शालिकराम पुडासैनीको प्रेमिका पनि भएको र उनकी प्रेमीकाले शालिकरामबाट केही समस्या भोगिरहेको भनेको सुनेको थिएँ। मिति २०७६ साउन २० गते मेरो कार्यक्रम नभएकाले चाँडै सुतेँ। भोलिपल्ट बहान ब्युझिई मोबाइल हेर्दा निज शालिकरामको मत्यु सम्बन्धमा म्यासेजहरु २० गते राति नै आइसकेका रहेछन्।

निजले मर्नुअघि बनाएका २ वटा भिडियोहरु हेर्दा निजले आफूलाई रवि लामिछाने समेतले मर्नलाई बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा निजले के–कति कारणले भने मलाई थाह छैन। तर निजले आफ्नो श्रीमती हुँदाहुँदै प्रतिवादी अस्मितालाई झुटो बोली निजसँग प्रेम गरेको र पछि निजको प्रेमिका अस्मिताले सबै कुरा थाह पाई निजबाट टाढिन खोज्दा निजले अमिस्तालाई अनेक दुःख दिने, बाटो छेक्ने, मरिदिन्छु भनी डर देखाउने जस्ता कार्यहरु गर्ने गरेकाले निज अस्मिताले मैले चलाउने सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा गई रवि लामिछाने समेतलाई तिम्रोबारेमा भनी सार्वजनिक गरिदिने भनेको कारणले सोही कुरालाई निजले साँचो ठानी म समेतसँग चित्त दुःखाई भिडियोमा मेरो समेत नाम लिई आत्महत्या गरेको हुनुपर्छ।