जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १४:०९

क्यावात ! ओली सरकार : पहिलो पटक बस्यो भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषदको बैठक


काठमाडौं, भदौ ९ । पहिलोपटक भिडियो कन्फेरेन्समार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भिडियो कन्फेरेन्समार्फत बैठकको अध्यक्षता गर्दै आज मन्त्रिपरिषद्को बैठक बसेको हो ।

स्वास्थ्य उपचारका क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री ओली आजको बैठकमा भिडियो कन्फेरेन्समार्फत् सहभागी हुनुभयो भने कार्यबाहक प्रधानमन्त्री इश्वरपोखरेल र मन्त्रीहरु सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहनुभयो । गर्नैपर्ने अत्यावश्यक र नियमित काम नरोकिउन भनेर प्रधानमन्त्री विदेशमै रहेको अवस्थामा पनि पहिलोपटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बसेको हो । बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको छ । सो क्रममा उहाँले आवश्यकताका आधारमा जरुरी कामलाई निर्णय लिन कावा प्रधानमन्त्री र मन्त्रीहरुलाई निर्देशन दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिनुभएको थियो भने उहाँको अनुहार पनि हँसिलो देखिएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिसँगै आजबाट मन्त्रिपरिषद बैठकसमेत बस्न सक्ने अवस्था सिर्जना गरेको हो । यो निर्णयसँगै सूचना प्रविधिको क्षेत्रमा नयाँ क्रान्ति देखिएको छ ।

प्रधानमन्त्री ओली भिडियो कन्फेरेन्सका माध्यमबाट बैठकमा सहभागी हुने भएपछि सरकारले गएको बुधबार मन्त्रिपरिषद बैठक सञ्चालन विधि समेत परिवर्तन गरेको थियो । जसले काठमाडौं बाहिर रहँदा पनि प्रधानमन्त्रीलाई बैठकको अध्यक्षता गर्ने बाटो खुलेको छ । नेपाल सरकारले मन्त्रिपरिषदको बैठकमा पहिलो पटक भिडियो कन्फेरेन्सको प्रयोग गरेको हो ।