जनता टाइम्स

९ भाद्र २०७६, सोमबार १७:१९

रवि लामिछानेमाथी प्रहरीको अर्को एक्सन, खाताको विवरण माग्दै राष्ट्र बैंकलाई पत्र


काठमाडौं, भदौ ९

प्रहरीले संचारकर्मी रवि लामिछानेको बैंक खाताको विवरण माग गर्दै राष्ट्र बैंकलाई पत्र पठाएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन कसुर अपराधका आरोपी तीनै जनाको बैंक खाता र सो खाताको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई भदौ ४ गते पत्र लेखेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनले नेपाल राष्ट्र बैंकलाई पत्र लेख्दै आत्महत्या दुरुत्साहन मुद्दाका प्रतिवादी टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भन्ने रुकु कार्कीको बैंक खाता विवरण माग गरेको जनाएको छ ।

सरकारी वकिलले अदालतमा बुझाएको मिसिलको सबुत प्रमाण क्रम संख्या ६६ मा पत्र पठाएको विवरण उल्लेख छ । चितवनको होटल कंगारुमा साउन २० मा आत्महत्या गरेका पत्रकार शालिकरामले मर्नुअघि बनाएको भिडियोमा प्रस्तोता रविसहित सिधाकुरा जनतासँगको टिमले करोडौं रकम उठाएको उल्लेख गरेका थिए।