जनता टाइम्स

२२ बैशाख २०८०, शुक्रबार ०९:०६

विश्व हिन्दु महासंघमा लफडा, महाधिवेशन गराउन अर्याल समूहकोअपिल


काठमाडौं, २२ वैशाख । विश्व हिन्दु महासंघको निर्वाचन महाधिवेशन गर्ने वातावरण बनाउन अपिल गरिएको छ ।

महासंघका निवर्तमान अध्यक्ष चकबन्धु अर्यालसहितले काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व चयन गर्ने वातावरण बनाउन अपिल गर्नुभएको हो ।

१० औं महाधिवेशनको स्थगित निर्वाचनलाई पूर्णता दिई अध्यक्षको चयन गरेर अघि बढ्नुको विकल्प रहेको भन्दै उनीहरुले निर्वाचन महाधिवेशन बोलाउने र अध्यक्ष चयन गर्ने वातावरण बनाउन सम्बन्धित् पक्षसँग आग्रह गर्नुभएको छ ।

‘सिघ्रातीशीघ्र निर्वाचन महाधिवेशन बोलाउन न्यायालय लगायत सम्बन्धित निकाय एवं पक्षले आदेश, निर्देश एवं साथसहयोग र सुझाव गरुन् भन्ने अपेक्षा गर्दछौं,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यसपटक कपट नियतवश निर्वाचन महाधिवेशन रोक्न भूमिका निर्वाह गर्ने तत्वहरुप्रति खेदप्रकट गर्दै, देश विदेशबाट पाल्नु भएका मतदाता तथा प्रतिनिधिहरूलाई पर्न गएको दुःखकष्टप्रति विश्व हिन्दु महासंघ क्षमा याचना गर्दछ ।’

टीकाकुमारी भण्डारी (अस्मिता) सहितले निर्वाचन महाधिवेशन रोक्न खोजेको र विधान र निर्णयविपरीत भण्डारीले आफूलाई कार्यबाहक अध्यक्ष घोषणा गरेको अर्याल समूहको आरोप छ । महासंघको १० औं महाधिवेशनको नेतृत्व चयनका लागि हुने निर्वाचनको विषय न्यायालयसम्म पुगेको छ ।

‘निर्वाचनको विषयमा भएको विवाद समाधानका लागि काठमाडौं प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको २१ वैशाख २०८० मा निर्वाचन महाधिवेशन गर्ने सहमतिविरुद्ध अमरकेशर सिंहले काठमाडौं जिल्ला अदालतमा रिट दिएका थिए,’ निवर्तमान अध्यक्ष अर्यालले भने, तर, सोही निर्णयविरुद्ध टीकाकुमारी भण्डारी (अस्मिता)ले दायर गरेको रिटमा उच्च अदालतले कारण देखाऊ आदेश जारी गर्दै निर्वाचन महाधिवेशन नगर्न भनेको सुन्नमा आएको छ ।’

तर, यसको किनारा चाँडै लगाएर चाँडोभन्दा चाँडो महासंघको निर्वाचन महाधिवेशन गरेर नेतृत्व प्रदान गर्नुपर्ने अर्याल समूहको माग छ ।