जनता टाइम्स

१० भाद्र २०७६, मंगलवार ०६:४७

मानव र पाटे बाघबीच द्वन्द्व


बाँके, भदौ १०  बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटेबाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ । बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ ।

निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान कम भएकाले निकै सहज रूपमा बाघ देखिन थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघ देखिन थालेको खबर फैलिएपछि पर्यटक आउने क्रम बढेको हो । “बाघलाई हेर्न आउने पर्यटक कहिलेकाही बाघको आक्रमणमा पर्ने गरेका छन्”, निकुञ्जका संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो, “पछिल्लो समय वन्यजन्तुबाट मानवीय तथा मानवबाट वन्यजन्तुको जीवन, वासस्थानलगायत आहारामा क्षति गर्ने क्रम बढेपछि मानव र वन्यजन्तु बीचको द्वन्द्व चर्किन थालेको हो ।”

“बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएपछि द्वन्द्वको समस्या चुलिएको हो”, उहाँले भन्नुभयो, “मानव र वन्यजन्तुबीच सहअस्तित्व कायम राख्न उनीहरूको वासस्थान र आहाराजन्य प्रजातिको अतिक्रमण प्रमुख कारण हो ।”

बाघको आक्रमणमा परी गेरुवा गाउँपालिक–४ दगापुरकी ५६ वर्षीया रामकली शाहीको भदौ ५ गते मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्जको तथ्याङ्कअनुसार बर्दियामा २०१३ देखि २०१९ सम्म चार जना बाघको आक्रमणमा परी ज्यान गुमाएका छन् । सो अवधिमा बाघको आक्रमणबाट पाँच जना घाइते भएका छन् । वयस्क बाघको सङ्ख्या एक सयको हाराहारी रहेको अनुमान निकुञ्ज कर्मचारीको छ ।

बाघ संरक्षणका लागि निकुञ्जको संवेदनशील क्षेत्रमा नेपाली सेनाले सुरक्षा दिइरहेको संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । बर्दिया निकुञ्जलाई प्रदेश नंं। ५ को प्रमुख पर्यटकीय गन्तव्य बनाइने मुख्यमन्त्री शङ्कर पोखरेले बताउँदै आउनुभएको छ ।

एक दशक अघिसम्म बर्दिया राष्ट्रिय निकुञ्ज ओझेलमा परेको थियो । तर यतिबेला यसको परिचय फेरिएको छ । पाटे बाघकै कारण अन्तर्राष्ट्रिय जगतमा बर्दिया चिनिएका छन् । हलिउडका स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटोग्राफर समूह निकुञ्जमा रहेको बाघको खिचेको फोटो सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय जगतमा बाघको वैभव भनेर बर्दिया राष्ट्रिय निकुञ्ज चिनिन थालेको हो ।

सन् २००८ को गणनाअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा १४ बाघ थिए । सन् २०१३ को गणनामा निकुञ्जमा ३७ वटा बाघ भेटिए । सन् २०१८ को गणनामा बाघको सङ्ख्या ८७ पुगेको छ । अबको गणनामा बाघको सङ्ख्या एक सय पुग्ने अनुमान निकुञ्जका कर्मचारीको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले विस्तार गरेपछि यहाँ बाघको सङ्ख्या बढेको हो ।

बाँके राष्ट्रिय निकुञ्ज विस्तार भएपछि बाघको वासस्थान बढेको निकुञ्जले जनाएको छ । निर्वाधरुपमा हिँड्ने बाघको जैविक मार्ग बढेपछि बर्दिया र बाँके निकुञ्जमा बाघ सङ्ख्यामा वृद्धि भएको बताइएको छ ।

बाँके निकुञ्जमा बाघको सङ्ख्या २१ रहेको छ । पछिल्लो समयमा निकुञ्जभित्र बाघको सङ्ख्या बढ्दै गएपछि पूर्व–पश्चिम राजमार्गको अम्रेनी र चिसापानी पोष्ट नजिकै बाटोमा भाले बाघ आएर बस्ने गरेका छन् । कहिलेकाँही पूर्व–पश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्केर बाटोमा बस्दा केही बेर ट्र«ाफिक जाम हुने गरेको बताइएको छ ।

संरक्षण सहायक अधिकृत अशोक भण्डारीले भन्नुभयो, “सचेतना, बाघको वासस्थान र आहारा प्रजातिको उचित व्यवस्थापन नहुँदा विगतमा बाघको सङ्ख्या न्यून रहेको थियो तर अहिले आहारा प्रजाति र पानीको व्यवस्थापनसँगै बाघ बढेका छन् ।”

चोरी शिकार नियन्त्रणका लागि युवा परिचालनले गर्दा बाघ संरक्षणमा टेवा पुगेको छ । वयस्क बाघले वासस्थान र बघिनिले बाघबाट डमरु बचाउन हिँड्डुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिने गरेको बताइएको छ । यसैक्रममा मान्छेलाई समेत आक्रमण गरेको हुन सक्ने अनुमान उहाँको छ ।

बाघ बढेपछि पर्यटन व्यवसायी उत्साहित भएको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष मोहन थारुले बताउनुभयो । “नेचर गाईडले पहिले बाघ देखाउनका लागि एक सातासम्म रातभर जङ्गलमा बस्नुपथ्र्यो तर अहिले त्यसो गरिरहनुपर्दैन्”, उहाँले भन्नुभयो, “दशकको प्रतिक्षापछि निकुञ्जमा बाघ देख्न सहज भएको छ । ”

“जैविक विविधता संरक्षण अभियान सञ्चालन गरेपछि अहिले बाघको सङ्ख्यामा वृद्धि भएको छ, यसले निकुञ्ज आउने पर्यटकको सङ्ख्यामा पनि उल्लेख्य वृद्धि भएको छ”, उहाँले भन्नुभयो । पूर्व–पश्चिम राजमार्गको अम्रेनी, चिसापान र निकुन्जभित्रको मचान क्षेत्रमा सजिलैसँग बाघ देख्न सकिने उहाँको दाबी छ ।

बाघ बढ्नुमा स्थानीयस्तरमा गठन गरिएको चोरी शिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुञ्ज प्रशासनको सक्रियता रहेको उल्लेख गर्दै उहाँले आहार प्रजाति र पानीको व्यवस्थापन तथा शून्य चोरी शिकारले गर्दा पाटे बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बताउनुभयो ।

पाटेबाघ भारत, नेपाल, भुटान र बङ्गलादेशका सीमित क्षेत्रमा पाइन्छ । प्राकृतिक वासस्थानमा सबैभन्दा बढी भारतमा पाटे बाघ पाइन्छ । भारतमा पाटेबाघको सङ्ख्या दुई हजार २२६ रहेको अनुमान छ ।

यस्तै, नेपालमा २३५, बङ्गलादेश १०६ र भुटानमा १०३ वटा पाटेबाघ रहेको संरक्षण सहायक अधिकृत भण्डारीले बताउनुभयो । आर्थिक वर्ष २०७४÷७५मा बाघ हेर्नका लागि २० हजार २८४ पर्यटक निकुञ्ज भित्रिएका थिए । सो अवधिमा निकुञ्जले उनीहरुबाट रु दुई करोड ९८ लाख छ हजार ४८ राजश्व सङ्कलन गरेको निकुञ्जले जनाएको छ । गत आवमा २४ हजार ५५८ पर्यटक निकुञ्ज भित्रिएका थिए । सो अवधिमा उनीहरुबाट रु तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जको रेञ्जर पुष्पदिप श्रेष्ठले बताउनुभयो ।