काठमाडौं, बैशाख २७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तारुढ दलका तीन नेतालाई जोगाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नै छानविन अघि नबढाउन निर्देशन दिनुभएको पाइएको छ ।
गिरोहका सदस्यले नाम पोलेपछि प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठले अरुको छानविन गरे पनि सत्तारुढ दलको नेतामाथि छानविन नगर्नू भन्दै प्रहरी महानिरीक्षकलाई निर्देशन दिनुभएको पाइएको हो ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन भन्दै प्रहरी महानिरीक्षक (आइजीपी) बशन्त कुँवरले आफू निकट प्रहरी अधिकृतसँग सत्तारुढ नेताहरुमाथि छानविन नगर्न आदेश आएको सुनाउनु भएको थियो । सोही आदेशका आधारमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजीत राई, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित कांग्रेस नेतृहरु आरजु राणा देउवा र मञ्जु खाणसहित १९ जनाको नाम किटान गरे पनि तीन नेताको बिषयमा अहिलेसम्म छानविन नै अगाडि बढाइएको छैन ।
‘माथिको आदेशमा खाण, आरजु र मञ्जुसहित अन्य केही मानिसको बिरुद्धमा छानविन अघि बढेको छैन,’ अनुसन्धानमा संलग्नमध्येका एक अधिकृतले जनताटाइम्स डटकमसँग भने । उनका अनुसार प्रहरीमाथि टोपबहादुर रायमाझीबिरुद्ध पक्राउ पुर्जी जारी भइसकेकोले उहाँबाहेक अरु नेतामाथि कुनै छानविन नगर्न भनिएको छ ।
जवकी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य जिम्मेवार तात्कालिन गृहमन्त्री बालकृष्ण खाण, तात्कालिन सचिव टेकनारायण पाण्डे, खाणपत्नी मञ्जु र तात्कालिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसदसमेत रहनुभएकी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा नै देखिनु भएको छ ।
पूर्वगृहमन्त्री थापाको पालामा सल्लाहकार राई र उहाँका छोरा प्रतिक थापाले योजना अघि बढाए पनि शरणार्थी थप्ने नाममा भएका सवै काम गृहमन्त्री खाण र सचिव पाण्डे आएपछि भएको छ । पक्राउ परेका सचिव पाण्डेले पनि गिरोहको सदस्यले किटान गरेजस्तै खाण, आरजु र मञ्जुको नाम किटान गर्नुभएको छ ।
यो घटनामा हालसम्म तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे जस्ता हाईप्रोफाइल व्यक्ति पक्राउ परिसकेका छन । पूर्वमन्त्री तथा सांसद टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी लिएर प्रहरीले खोजी गरिरहेको छ । उहाँका छोरा सन्दीप भने पक्राउ परिसकेका छन् । यस प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको नामसमेत किटानीमा परेको छ ।
आरजु र मञ्जुलाई करोडौं पैसा बुझाएको दाबी गरिएको अडियो सार्वजनिक भइसकेको छ । सामाजिक सञ्जालमा केही दिनदेखि भाइरल भइरहेको अडियोमा कोही व्यक्तिले मञ्जुलाई उनकै घरमा पुगेर ६ करोड र आरजुलाई साढे दुई करोड बुझाएको बताएका छन ।
यति धेरै प्रमाण छताछुल्ल भए पनि प्रधानमन्त्री–गृहमन्त्रीको निर्देशनको कारण बालकृष्ण खाण, मञ्जु खाण र आरजु देउवामाथि छानविन अघि बढाउने कुनै कदम चालेको छैन । यस बिषयमा प्रतिक्रिया लिन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग प्रतिक्रिया लिन उहाँको मोवाइल नम्बरमा सम्पर्क गर्दा फोन फोन उठाउनु भएन ।
प्रतिक्रिया दिनुहोस्