जनता टाइम्स

२६ बैशाख २०८०, मंगलबार १३:१२

भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ : विश्वप्रकाश शर्मा


काठमाडौं, २६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले भ्रष्टाचारविरुद्ध फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताउनुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले भ्रष्टाचारमाथि सरकार निर्मम भएर लाग्नुपर्ने बताउनुभयो ।

सरकारले ल्याएको भ्रष्टाचार निवारण ऐन २०५९ को संशोधनमा भ्रष्टाचारको छानबिन गर्नका लागि राखिएको पाँच वर्ष हदम्याद हटाउनुपर्ने बताउँदै उहाँले भ्रष्टाचारको छानबिनमा राज्यले कठोरताका साथ जानका लागि कुनै पनि हदम्याद राख्न नहुने बताउनुभयो ।

सोही क्रममा उहाँले भ्रष्टाचारको फाइलमात्र होइन फायर नै खोल्नुपर्ने बताउनुभएको हो । ‘भ्रष्टाचारका विरुद्ध फाइलमात्र होइन फायर खोल्नुपर्छ राज्यले,’ उहाँले थप्नुभयो, ‘सँगै यसका लागि एउटा दृष्टिकोण पनि बनाउनुपर्छ, निर्दोष कोही फस्नु हुँदैन, दोषी कोही बच्नु पनि हुँदैन ।’