धनगढी, २६ वैशाख । कैलालीको धनगढी उपमहानगरपालिका अन्तर्गत आधारभूत तह कक्षा–८ को उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशनसम्मको विषय केही समयअघि निकै तातेको थियो । उपमहानगरपालिकाका–१७ सामुदायिक र १ संस्थागत विद्यालयको कक्षा ८ को नतिजा शून्य रहेको परिणाम सार्वजनिक भएसँगै त्यसले शैक्षिक गुणस्तरमाथि प्रश्न उठाउँदै देशव्यापी चर्चा पायो ।
उपमहानगरपालिकाले कक्षा ८ को परीक्षा गत ५ चैतदेखि सुरु गरेको थियो। हतारमा परीक्षाको नतिजा ३ वैशाखमा प्रकाशन गरियो । धनगढी उपमहानगरपालिकाले मिडियाबाजी गर्नुभन्दा नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै नतिजा प्रकाशन, पुनर्योग तथा मौकापरीक्षा सञ्चालन गरिसक्नुपर्ने थियो । तर, उपमहानगरपालिका कक्षा ८ को मौका परीक्षा नयाँ शैक्षिक सत्र भर्ना अभियान सकिनै लाग्दाअघि बढाउने निर्णय गरेको छ ।
उपमहानगरपालिकाले कक्षा ८ को मौका परीक्षा वैशाख २९ र ३० गते सञ्चालन गर्ने गरी केन्द्र तोकेको छ । नयाँ शैक्षिक सत्रका लागि वैशाख महिना विद्यार्थी भर्ना अभियान हो । कक्षा ८ मा उत्तिर्ण भएका विद्यार्थी कक्षा ९ मा अध्यापन गर्न जाँदा उनीहरूको आधाभन्दा पढाइ प्रभावित हुने शिक्षक बताउँछन् । नेपाल शिक्षक संघ धनगढी नगर सभापति मोहन भण्डारी अहिले विद्यार्थीले पुनर्योगका लागि निवेदन दिँदा पुनर्योग गर्दा थुप्रै त्रुटि भेटिएको बताउँनुहुन्छ ।
‘केही विद्यार्थीले नतिजा पुनर्योगका लागि निवेदन दिनु भएको थियो । त्यो गर्दा नतिजा राम्रो देखियो । नम्बर चढाउँदा वा जोड्दा गलत जोडेको देखियो,’ उहाँले भन्नुभयो । यसले थुप्रै त्रुटि गरेर विद्यार्थीको जीवनमा खेलवाड गर्न खोजिएको उहाँको आरोप छ । ‘पुनर्योग गर्दा नेपालीमा ८७, अंग्रेजीमा ५६, गणितमा ११२, सामाजिकमा १५३, विज्ञानमा ७३, स्वास्थ्यमा ६३, नैतिकमा २३, पेसामा १२२ र कम्प्युटरमा ९० जना उतिर्ण भएका छन् । उत्तरपुस्तिका पुनः परीक्षण नै गरिएको भए नतिजामा थप सुधार आउने थियो ।
यहाँ त शिक्षक र विद्यालयलाई आरोप लगाएर नगरपालिकाले ठूलो गल्ती गरेको छ,’ उहाँले भन्नुभयो । उहाँले विद्यार्थीको मनोबल र भावनामाथि खेलवाड गर्ने काम भएको आरोप लगाउनुभयो । ‘वैशाख अन्तिममा मौकापरीक्षा हुँदैछ । कहिले नतिजा प्रकाशन होला र कहिले विद्यार्थी भर्ना होलान। यसले त विद्यार्थीको पढाई नै प्रभावित हुन्छ,’ उहाँ भन्नुहुन्छ । शिक्षक संघ कैलालीका सभापति तेजबहादुर सिंहका अनुसार विद्यालयमा कक्षा ८ का आधा प्रतिशत पनि विद्यार्थी विद्यालयमा भर्ना भएका छैनन् ।
यससँगै अहिले कक्षा ८ मा अनुत्तिर्णमा परेका विद्यार्थीहरु नयाँ विद्यालयमा भर्ना हुन चाहिरहेका छन् । ‘सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा आधा प्रतिशत विद्यार्थी पनि भर्ना भएका छैनन्,’ उहाँले भन्नुभयो, ‘नतिजाको प्रभावभन्दा पनि उपमहानगरपालिकाले समयमै सबै प्रक्रिया नपु¥याउनु कमजोरी देखिएको छ । अहिले विद्यालयबाट विद्यार्थी ‘ड्रप आउट’ हुने दर बढ्ने देखिएको छ ।’ धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित छ, शारदा माध्यामिक विद्यालय ।
सो विद्यालयमा सुुरुमा कक्षा ८ मा ११ जना विद्यार्थीमात्र कक्षा ९ मा जाने गरि उत्तिर्ण भएका थिए । भर्खरै उपमहानगरपालिकाले पुनर्योग गर्दा थप पाँच जना विद्यार्थी कक्षा नौ मा उत्तीर्ण भएको नतिजा सार्वजनिक भएको छ । शिक्षक सिंहले भने, ‘एघार जनामा थप पाँच जना उत्तिर्ण भएका छन् भने ३४ जना मौका परिक्षामा छन् । यसले संख्या बढाउँछ ।’
धनगढी उप–महानगरपालिकाले शून्य देखाएको विद्यालयमा पनि पुनर्योग गर्दा विद्यार्थी उत्तिर्ण बनेका छन् । दुर्गा आधारभूत विद्यालयमा शून्य रहेकोमा अहिले सोबाट दुई जना उत्तिर्ण बनेका छन् भने मौकापरिक्षाका लागि पनि आठ जना विद्यार्थी छनौट भएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर–३ स्थित मयुर बोर्डिङ स्कुलका सात जना विद्यार्थी अनुत्तिर्ण रहेकोमा अहिले पुनर्योगका क्रममा तीनजना उत्तीर्ण देखिएका छन् भने चारजना मौका परीक्षामा छनौट भएको विद्यालयका सञ्चालक पदमबहादुर साउदले बताउनुभयो । धनगढी उपमहानगरपालिकाले पुनर्योग गर्दा एक विद्यालयका एक विषयमा १६ जनालाई उत्तिर्ण गराएको छ । ऐश्वर्य विद्या निकेतनमा कक्षा ८ मा कम्प्युटर विषयमा अनुत्तीर्ण देखाएका विद्यार्थीमध्ये १६ लाई उत्तीर्ण बनाएको छ ।
उपमहानगरपालिकाले सार्वजनिक गरेको पुनर्योग नतिजामा ऐश्वर्य विद्या निकेतनमा नेपाली विषयमा आठजना, अंग्रेजीमा १, गणितमा १२, सामाजिकमा सात, स्वास्थ्यमा सात, नैतिकमा दुई, पेसामा दुई, कम्प्युटरमा १६ जना उत्तीर्ण भएको उल्लेख छ । यस्तै, शारदा माध्यामिक विद्यालयमा नेपाली विषयका आठ, अंग्रेजीका दुई, गणितका छ, सामाजिकका ११ जना, विज्ञानका आठ, नैतिकका एक, पेसाका पाँच, कम्प्युटरका आठ विद्यार्थी उत्तीर्ण भएको उल्लेख छ ।













प्रतिक्रिया दिनुहोस्